Bagmati Samachar Logo

जिउँदै इँटाभट्टामा जलाएर हत्या आरोप लागेका आलमलाई उन्मुक्ति दिने दुई न्यायाधीश न्याय परिषद् तानिए

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसांसद अफताब आलमलाई ज्यान मुद्दामा उन्मुक्ति दिने न्यायाधीशद्वय डा. खुसीप्रसाद थारु र अर्जुन महर्जन न्याय परिषद्‌मा तानिएका छन् ।

बिहीबार बसेको न्याय परिषद्को बैठकले उनीहरूलाई जिम्मेवारीबाट अलग गर्दै परिषद्मा तानेको हो ।
जिल्ला अदालत रौतहटले उनलाई दोषी ठहर गर्दै जन्मकैदको फैसला गरेकोमा उच्च अदालतको वीरगञ्ज इजलासले सफाइ दिएको हो ।

संविधान सभाको निर्वाचनको अघिल्लो राति २७ चैत २०६४ मा रौतहटको राजपुरस्थित इँटा भट्टामा पोलेर व्यक्ति हत्या गरेको आरोपमा उनी दोषी ठहर भएका थिए । घटनाको १२ वर्षपछि रौतहट प्रहरीले आलमलाई १९ असोज २०७६ मा पक्राउ गरेको थियो ।

आलमका काका शेख इन्द्रिसको घरमा बम बनाउने क्रममा त्रिलोकप्रताप सिंह र ओशी अख्तरसहित घाइतेहरूलाई जिउँदै इँटाभट्टामा जलाएर हत्या गरेको आरोप आलममाथि थियो ।

आलमले नै बनाउन लगाएको बम बिस्फोटमा परेर घाइते भएकाहरूबाट घटना सार्वजनिक हुने भन्दै जिउँदै इँटाभट्टामा जलाएर हत्या गरिएको अनुसन्धानबाट देखिएको छ । त्यतिबेला प्रहरीले घटनास्थलमा कुनै किसिमको बिस्फोट नभएको भनेर मुचुल्का बनाएको थियो । प्रहरी, जिल्ला सरकारी वकिल कार्यालय र पुनरावेदन सरकारी वकिल कार्यालयले मुद्दा नचल्ने राय दिएका थिए ।

तर पछि उनी पक्राउ परेका थिए । जिल्ला अदालत रौतहटले उनलाई दोषी ठहर गर्दै जन्मकैदको फैसला गरेको थियो ।