Bagmati Samachar Logo

अमेरिकासँग वार्ता गरिरहेका इरानका सेना प्रमुख र वैज्ञानीक मारिए इजरायली हमलामा

फाेटाे हुसेन सलामी, अली शमखानी र मोहम्मद बघेरी

काठमाडौं । अमेरिकासँग परमाणु कार्यक्रमबारे वार्ता गरिरहेका इरानी अधिकारीको इजरायली हमलामा मृत्यु भएको छ।

शुक्रबार बिहान इजरायलले इरानमा उच्च सैनिक अधिकारी र परमाणु वैज्ञानिकहरूलाई लक्ष्य बनाएर हमला गरेको थियो।

उक्त हमलामा परी इरानी सर्वोच्च नेता आयातोल्लाह खामेनीका निकटमध्येका अली शमखानी पनि मारिएको अमेरिकी पत्रिका द न्यूयोर्क टाइम्सले जनाएको छ।

इरानमा परमाणु कार्यक्रम रोक्ने सम्बन्धमा अमेरिकाले दुई महिनायता इजरायलसँग वार्ता गर्दै आएको छ।

वार्तको मध्यस्थता ओमानले गरिरहेको छ। ओमानको राजधानी मस्कटमा वार्ता गर्नका लागि खामेनीले बनाएको टोलीमा शमखानी पनि सहभागी थिए।

ओमानमा अमेरिका र इरानबीच पाँचौं चरणको वार्ता भइसकेको छ। छैटौं चरणको वार्ता आइतबार हुने तय थियो। वार्ता तय भएकै अवस्थामा इसराइलले इरानमा हमला गरी वार्ता टोलीकै सदस्य मारिदिएको छ।

शमखानी इरानका प्रमुखमध्येका नेता पनि रहेको बताइएको छ। उनी पूर्व नौसेना कमान्डर पनि हुन्। उनी खामेनीका प्रमुख सल्लाहकार पनि थिए।

इजरायली आक्रमणबाट शुक्रबार इरानका २० जना सैन्य अधिकारी र ६ जना आणविक वैज्ञानिक मारिएको बताइएको छ।

इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोरका प्रमुख कमान्डर हुसेन सलामी, सेनाका प्रमुख मेजर जनरल मोहम्मद बाघेरी, रिभोलुसनरी गार्डकै हवाई फोर्स कमान्डर आमिर अली हाजीजादेह, खताम अल अनबिया मुख्यालय प्रमुख घोलाम अलली रसिद लगायत कम्तिमा पनि २० जना सैन्य अधिकारी मारिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

यसरी प्रमुख सैन्य अधिकारीहरु नै मारिएपछि इरानी सेनाको चेन अफ कमान्ड नै ध्वस्त भएको छ। सर्वोच्च नेता आयातोल्लाह अल खामेनीले ब्रिगेडियर जनरल मोहम्मद पाकपोरलाई रिभोलुसनरी गार्डका प्रमुख नियुक्त गरेका छन्।

बाघेरीको ठाउँमा मेजर जनरल सैयद अबदुलरहिम मौसावीलाई सेना प्रमुख र रसिदको ठाउँमा अली शदमानीलाई खताम अल अनबिया मुख्यालय प्रमुख नियुक्त गरेका छन्।

त्यस्तै आणविक हतियार बनाउने वैज्ञानिकहरू पनि हमलामा मारिएका छन्।

मोहम्मद मेहदी तेहराँची, फरदून अब्बासी, मोहम्मद इस्लामी लगायतका परमाणु वैज्ञानिकहरु इसराइली हमलामा मारिएका हुन्। इसराइलले इरानविरूद्धको हमलालाई अपरेशन लायन नाम दिएको छ।

हमलाबाट इरानमा कम्तिमा ८० जनाको मृत्यु र साढे तीन सय हाराहारीमा घाइते भएको बताइएको छ।

जबाफमा शनिबार इरानले पनि इजरायलमाथि सशक्त हमला गरेको भनेर अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

इरानले इजरायलको राजधानी तेल अभिभ र जेरूसलेम लगायतका सहरहरूलाई लक्ष्य गरी ब्यालिस्टिक मिसाइल, रकेट र ड्रोन हमला गरेको छ।

हमलामा कम्तिमा तीन जनाको मृत्यु भएको र दर्जनौं घाइते भएका सञ्चारमाध्यमले जानकारी दिएकाछन्।

तेल अभिभ र जेरूसलेममा ठूला भवनहरूमा ध्वस्त भएको भिडियो र तस्बिर पनि सार्वजनिक भएका छन्।