Bagmati Samachar Logo

इजरायलको आक्रमणबाट इरानी सेना प्रमुख मारिए

काठमाडौं । इसराइली आक्रमणमा इरानको सशस्त्र बलका प्रमुख मारिएका छन्।

शुक्रबार आणविक भट्टी, हतियार कारखाना लक्षित इसराइली आक्रमणमा परी इरानको नियमित सेनाका प्रमुख मेजर जनरल मोहम्मद बघेरीको मृत्यु भएको इरानको सरकारी टेलिभिजनले जनाएको छ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले पनि बघेरी मारिएको उल्लेख गरेका छन्। यसको स्वतन्त्र पुष्टि भने अहिलेसम्म भएको छैन ।
यसअघि इरानको शक्तिशाली सैन्य संगठन इस्लामिक रिभोलुसनरी गार्ड (आइआरजिसी)का प्रमुख मेजर जनरल हुसेन सलामी मारिएका थिए।

आइआरजिसीले उनको मृत्यु भएको पुष्टि समेत गरेको छ।

‘निस्सन्देह, मेजर जनरल सलामी इस्लामिक क्रान्तिका सबैभन्दा प्रतिष्ठित कमाण्डरहरूमध्ये एक थिए। उनी वैज्ञानिक, सांस्कृतिक, सुरक्षा र सैन्य जिहादका सबै मोर्चाहरूमा उपस्थित थिए,’ आइआरजिसीले भनेको छ।

इरानका सर्वोच्च नेता आयतोल्लाह अल खामेनीले इसराइली आक्रमणको जबाफ दिने चेतावनी दिइसकेका छन्। उनले इरानले दिने जबाफ कडा र कठोर हुने पनि बताएका छन्।

‘यो अपराधका साथ यहूदी शासकले आफूलाई तीतो र पीडादायी भाग्यको लागि तयार पारेको छ र उसले यसको परिणाम भोग्ने निश्चित छ,’ खामेनीले भनेका छन्।

इरानमा आक्रमण गरेपछि इसराइलले देशभरि आपतकाल घोषणा गरेको छ।

इसराइलले इरानको सम्भावित जबाफको पूर्वतयारीस्वरूप देशव्यापी आपतकाल घोषणा गरेको हो। विद्यालय बन्ददेखि अस्पतालमा समेत बहिरंगबाहेकका सेवा बन्द गर्न निर्देशन दिइएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

मानिसहरूलाई अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन भनिएको छ भने भेला गर्न पनि रोक लगाइएको छ। साथै सेनालाई पनि तयार रहन भनिएको छ।

इसराइली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले इसराइलमाथि सुरक्षा चुनौती देखिएका कारण हमला गरिएको भनेका छन्।

उनले इरानी आणविक भट्टी र हतियार कारखाना नष्ट नपारून्जेल आक्रमण जारी रहने पनि बताएका छन्।

इरानमा आक्रमण गर्नुअघि प्रधानमन्त्री नेतन्याहूले आफ्नो मुख्य सहयोगी अमेरिकासँग परामर्श गरेका थिए।

अमेरिकालाई जानकारी गराएपछि इसराइलले इरानी आणविक भट्टी, हतियार कारखाना, आणविक हतियार उत्पादनमा खटिएका वैज्ञानिक र सैनिक उच्च अधिकारीहरूलाई लक्ष्य गरेर आक्रमण गरेको हो।