मेयर बालेन र उपमेयर सुनिताको वार्ता, कार्यपालिकाको बैठक राख्ने तयारी

फाइल फोटो
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह र उपमेयर सुनिता डंगोल बीच बुधबार भेटवार्ता भएको छ। मेयर साह र उपमेयर डंगोलबीचको लामो समयसम्मको संवाद हिनता तोडिएको छ ।
आजको संवाद पछि उनीहरूले छिट्टै कार्यपालिका बैठक राख्ने र विवाद समाधान गर्ने सहमति जनाएका छन्। बैठकको मिति निश्चित भएको छैन।
उक्त भेटघाटमा तीन वटा वडाका वडाध्यक्ष पनि सामेल भएका थिए । छलफमाल छिट्टै कार्यपालिका बैठक राख्न प्रारम्भिक सहमति भएको छ ।
बैठक बुधबार भएको थियो । बैठकमा उपमेयर डंगोलले आफ्ना कुरा राखेको सहभागी एक वडाअध्यक्षले बताए । उनले भने,‘उपमेयरले आफ्नो कुरा राख्नु भयो । प्रमुखले पनि केही कुरा राख्नुभयो । बजेटलाई लक्षित गरेर कार्यपालिका बैठक चाहिँ तत्काल राख्ने र अन्य विवादको विषय हल गर्दै जाने कुरो भएको छ ।’
कार्यपालिकाको लागि लक्षित बैठकमा प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई भने बोलाइएको थिएन ।
कार्यपालिका बैठकको सदस्य सचिव प्रमुख प्रशासकीय अधिकृत हुने स्थानीय सरकार सञ्चालन ऐनमा प्रावधान रहेको छ ।
काठमाडौं महानगरको कार्यपालिका बैठक बस्न नसकेको करिब ५ महिना नाघिसकेको छ । १४ पुसमा १६औं नगरसभा बैठक बस्नु अगाडि बसेको कार्यपालिका बैठक त्यसपछि बस्न सकेको छैन ।
प्रमुख प्रशासकीय अधिकृतको विषयलाई लिएर मेयर, उपमेयर र वडाअध्यक्षहरु विभाजित छन् ।
प्रतिक्रिया दिनुहोस्: