वाईसीएलको पदाधिकारी बढाएको भन्दै शक्ति बस्नेतको जिल्ला र प्रदेशबाट प्रतिवाद

काठमाडौँ । नेकपा माओवादी केन्द्र निकट योङ्ग कम्युनिस्ट लिग (वाईसीएल)को विधानमा भएको ३५ जना पदाधिकारी बनाउने व्यवस्था मिचेर ७५ जना पदाधिकारी चयन गरेको भन्दै कर्णालीका ६ जिल्लाका इन्चार्जहरूले विरोध गरेका छन् । जेठ (१८–२४) गते काठमाडौँमा सम्पन्न वाईसीएलको तेस्रो राष्ट्रिय सम्मेलनले ७५ सदस्यीय पदाधिकारी र ३५१ सदस्यीय केन्द्रीय समिति गठन गरे पछि सम्मेलन सम्पन्न गर्ने र नेतृत्व चयन गर्ने जिम्मा पाएका माओवादीका उपमहासचिव शक्ति बस्नेतको जिल्लाले नै उनले गरेको निर्णयको विरोध गरेको छन् ।
तर जेठ २० गतेको बन्द सत्रले पारित गरेको विधानमा ३५ सदस्य पदाधिकारी र २५१ सदस्यीय केन्द्रीय समितिको व्यवस्थालाई मनोमानी ढङ्गले बढाएकोमा उनीहरूले विरोध जनाएका हुन् । विरोध गर्नेहरूमा रुकुम पश्चिम, जाजरकोट, कालिकोट, हुम्ला, जुम्ला, दैलेखका इन्चार्जसहित केही जिल्लाका केन्द्रीय सदस्यहरू रहेका छन् ।
यसबारे केन्द्रीय कार्यालयमा असहमति राख्दासमेत कुनै सुनुवाइ नभएको विज्ञप्तिमार्फत जानकारी गराएका छन् ।
‘वर्तमान केन्द्रीय सदस्यहरूले प्रतिनिधिलाई भ्रममा राखेर विधान विपरीत केन्द्रीय समिति गठन गरेको निष्कर्ष निकाल्दै सामूहिक रूपमा असहमति प्रकट गर्दछौँ’, विज्ञप्तिमा भनिएको छ ।
असहमति जनाउनेमा जनककुमार विश्वकर्मा (रुकुम पश्चिम), विकास रोकाय (जाजरकोट), हस्तबहादुर शाही(कालिकोट), हर्क थापा (दैलेख), कर्मा लामा(हुम्ला) छन् । केन्द्रीय सदस्यहरू गौरीकला शाही, गीता शाही र राजेश बुढा रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्: