Bagmati Samachar Logo

पार्टीभित्र झ्याम्टा बजाउँदा मात्र लोकतन्त्र हुने, सहमति हुँदा लोकतन्त्र नहुने भन्ने हुन्छ : ओली

काठमाडाै‍ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा पार्टीभित्र झ्याम्टा बजाउँदा मात्र लोकतन्त्र हुने, सहमति हुँदा लोकतन्त्र हुँदैन भन्ने नहुँने बताएका छन् ।

अनेरास्ववियुको २४औँ महाधिवेशन उद्घाटन गर्दै ओलीले एमालेप्रति भ्रम फैलाउने र अँध्यारो देखाउने प्रवृत्ति रहेको बताए । उनले भने,‘ पार्टीभित्र एकता हुनु हुँदैन भन्ने प्रवृति छ । चुनावबाटै नेतृत्व चयन गर्नुपर्छ भनेर भ्रम फैलाउन खोजेका छन् । मेरो आग्रह के हो भने हामी एकता, फेरि एकता र सुदृढ एकतामा जान सकेमा हामी हाम्रो लक्ष्यमा प्रभावकारीरुपमा अघि बढाउन सक्छौँ । मिल्नै नसक्ने भएमा मित्रतापूर्ण निर्वाचनमा जाने अधिकार त छँदैछ ।’

विद्यार्थी आन्दोलन र खासगरी अनेरास्ववियुको अगुवाइमा २०३६ सालमा जनमत संंग्रहको घोषणा गर्न बाध्या बनाउने यही संगठन भएको र आफूहरुले नै देशमा साँच्चैको लोकतन्त्र र गणतन्त्र ल्याउन बलिदान गरेको बताए ।

विद्यार्थीका नाममा तोडफोड, कुटपिट, शिक्षालयमा आगजनी र तालाबन्दी गर्ने खालका हिंसात्मक क्रियाकलापका लागि अनेरास्ववियुका लागि छुट नहुने बताउँदै उनले यस संगठनलाई परिवर्तनकारी, सभ्य र जिम्मेवारी संगठनका रुपमा रहन निर्देश दिएका छन् । उनले भने, ‘बाटोमा हिन्दा तपाईँहरुको मित्रतापूर्ण बोली, व्यवहार र आचरणबाट नै अनेरास्ववियु हो भनेर अरुले चिनुस् । म अखिल हो भन्दै कार्ड देखाएर धम्क्याउने व्यवहार हामीबाट हुनु हुँदैन ।’

,