Bagmati Samachar Logo

अख्तियारले दुई महिनाअघि नै गरेको थियो माधव नेपालविरुद्ध मुद्दा चलाउने निर्णय

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग चैतको तेस्रो साता बयान लिएको थियो । नेपाल आफै टंगालस्थित आयोग कार्यालयमा गएर सो प्रकरणबारे बयान दिएका थिए ।

बयान पछि अख्तियार नेपाल विरुद्ध मुद्दा दर्ताको तयारी गरिरहेको थियो । अन्ततः बिहीबार उनीविरुद्ध पतञ्जली जग्गा अनियमितताबारे विशेष अदालतमा मुद्दा दायर भएको छ । अख्तियारले पूर्वप्रधानमन्त्री तहका नेताविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको पहिलोपटक हो ।

यो प्रकरणमा तत्कालीन प्रधानमन्त्री नेपालको संलग्नता पुष्टि हुने आधार भेटिएपछि उनीविरुद्ध मुद्दा चलाउने निष्कर्षमा आयोग पुगेको थियो ।

२०६६ सालमा भारतीय योगगुरु रामदेवको पतञ्जलि योगपीठ तथा आयुर्वेद कम्पनीले काभ्रेको बनेपामा ५ सय ९३ रोपनी जग्गा खरिद गरी ३ सय ५३ रोपनी १५ आना पतञ्जलिका तत्कालीन नेपाल प्रमुख शालिग्राम सिंहले काष्ठमण्डप हाउजिङ कम्पनीलाई २०६७ साल असार ११ मा बेचेका थिए ।

तत्कालीन प्रधानमन्त्री नेपालले २०६६ साल माघ १८ गतेको मन्त्रिपरिषद्‌ बैठकबाट हदबन्दी छुटमा जग्गा किन्न दिने निर्णय गराएका थिए । उक्त जग्गा किनेको दुई महिना नपुग्दै २०६६ साल चैत ६ गते मन्त्रिपरिषद्‌बाट बेच्न स्वीकृति दिलाएका थिए ।

सरकारबाट ८ सय १५ रोपनी जग्गा किन्न स्वीकृति पाएपछि पतञ्जलिले बनेपाको नासिकास्थान, साँगा, महेन्द्रज्योति र चलाल गणेस्थान क्षेत्रमा गरी ५ सय ९३ रोपनी ५ आना ३ पैसा जग्गा किनेको थियो । हदबन्दी छुटमा खरिद गरेको जग्गा बेच्न अनुमति माग्दै पतञ्जलि नेपालका अध्यक्ष सिंहले २०६६ साल फागुन १७ गते निवेदन दिएका थिए ।

हदबन्दी छुटमा खरिद गरेको जग्गा बेच्न अनुमति माग्दै पतञ्जलिले निवेदन दिएपछि उक्त निवेदन कानुनबमोजिम छरछैन भनेर जिल्ला मालपोत कार्यालय र भूमिसुधार विभागबाट राय नै नलिएर बेच्न दिइएको थियो । पछि निर्णय कार्यान्वयनका लागि मात्र मालपोत कार्यालय र भूमि व्यवस्था विभागलाई निर्देशन दिइएको थियो ।

मन्त्रिपरिषद्को निर्णय कानुनविपरीत भएको भन्दै विभागका तत्कालीन महानिर्देशक केशरबहादुर बानियाँले ‘कार्यान्वयन गर्न नसकिने’ भन्दै फाइल मन्त्रालयमै फर्काइदिएका थिए । बानियाँ कार्यान्वयन गर्न नसकिने भनेपछि उनलाई महानिर्देशकबाट नै हटाइएका थिए ।

२० पुस २०६४ मा कम्पनी रजिस्ट्रार कार्यालयमा दर्ता पतञ्जलि योगपीठ तथा आयुर्वेद कम्पनी गैरनाफामूलक ट्रस्टका रूपमा दर्ता छ  । यसका योगी रामदेव, बालकृष्ण आचार्य, शालिग्राम सिंह, राजेन्द्र सिंह र उमेश सर्राफ सञ्चालक छन् ।