दिवंगत राजपरिवारको श्रद्धाञ्जलीमा किन राखिएन दीपेन्द्रको तस्वीर : राजावादी भन्छन् प्रिन्ट मिस्टेक हो
काठमाडौं । दरबार हत्याकाण्डमा मारिएका दिवंगत राजपरिवारलाई श्रद्धाञ्जली दिने कार्यक्रममा पूर्वयुवराज दीपेन्द्र शाहको तस्वीर राखिएको थिएन । सोमबार राजावादी समूहहरूले काठमाडौंको कमलादीस्थित गणेश मन्दिरमा आयोजना गरेको श्रद्धाञ्जली तथा दीप प्रज्वलन कार्यक्रममा दरबार हत्याकाण्डमा मारिएका सबै सदस्यहरूको तस्वीर राखिए पनि दीपेन्द्रको भने राखिएको थिएन ।
कार्यक्रमस्थलमा राखिएको ‘दिवङ्गत राजपरिवारका सदस्यहरूलाई हार्दिक श्रद्धासुमन अर्पण’ लेखिएको ब्यानरमा राजा वीरेन्द्र, रानी ऐश्वर्य, अधिराजकुमारी श्रुती, अधिराजकुमार निराजन, राजा वीरेन्द्रका भाइ धीरेन्द्र शाह, उनकी पत्नी शान्ति, छोरीहरू श्रद्धा र जयन्ती तथा श्रद्धाका पति कुमार खड्गविक्रम शाहको तस्वीर समावेश गरिएको थियो । तर दीपेन्द्रको तस्वीर राखिएको छैन । उक्त तस्वीर किन नराखेको भनेर दीप्रज्वलीत गरिहरका एक राजावादीलाई सोध्दा प्रिन्ट मिस्टेक भएको बताउछन् । तीनले भने,‘प्रिन्ट मिस्टेक भएको थियो । यसलाई सबैले इश्यु बनायो । जानेर त्यस्तो गरेको होइन ।’
श्रद्धाञ्जली कार्यक्रममा पूर्वयुवराज्ञी हिमानी शाह र पूर्वनवयुवराज हृदयेन्द्र शाह सहभागी थिए ।
१९ जेठ २०५८ मा नारायणहिटी दरबारमा भएको हत्याकाण्डपछि गठन गरिएको सरकारी छानबिन समितिले तत्कालीन युवराज दीपेन्द्रलाई घटनाको दोषी ठहर गर्दै प्रतिवेदन बुझाएको थियो ।
यही कारण श्रद्धाञ्जली कार्यक्रममा दीपेन्द्रको तस्वीर नराखिएको हुन सक्ने चर्चा पनि चलेको छ। हुन त १९ जेठको हत्याकाण्डपछि गम्भीर घाइते भएका दीपेन्द्रको उपचारका क्रममा केही दिनपछि मात्रै निधन भएको थियो । उनलाई घाइते भएकै अवस्थामा राजा घोषित गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्: