प्रतिपक्षीको अवरोधपछि संसद बैठक स्थगित

काठमाडौं । प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । बैठक सुरु हुनासाथ प्रतिपक्षी दलका सांसदहरूले उठेर संसद अवरुद्ध गरेका छन् ।
प्रतिपक्षीले संसद अवरोध गरेपछि सभामुख देवराज घिमिरेले आधा घण्टाका लागि बैठक स्थगित गरेका हुन् ।
बैठकको सुरुमै प्रतिपक्षी दलका सांसदहरू उठेर बैठकमा विरोध जनाएका थिए । प्रतिपक्षी दलहरूले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गरेका छन् । गृहमन्त्रीले राजीनामा नदिएसम्म बैठक चल्न नसक्ने विपक्षीको अडान छ ।
सभामुख घिमिरेले आसन ग्रहण गरेर बैठक सञ्चालन गर्न सहयोग गर्न आग्रह गरे । दलीय आधारमा सांसदहरूलाई बोल्न दिने भन्दै सभाको कारबाहीलाई अघि बढाउन उनले आग्रह गरिरहे । तर प्रतिपक्षका सांसदहरुले नमानेपछि बैठक स्थिगित भएको छ ।
सत्तापक्षका केही सांसदहरू पनि उठेर आफ्ना कुरा राख्न पाउनुपर्ने माग राखे । सभामुख घिमिरेले दलीय आधारमा बोल्न चाहानुहुन्छ भने दलीय आधारमा बोल्न दिने नचाहेमा गृहमन्त्रीले बोल्न समय मागेकाले बोल्ने समय दिने भन्दा प्रतिपक्षका सांसदहरूले हो हल्ला गरेका थिए ।
सभाको मर्यादा पालना गर्न दलीय आधारमा बोल्ने वा उठेको प्रश्नको जवाफ दिन गृहमन्त्रीले समय मागेकाले वातावरण बनाउन आग्रह सभामुखको थियो । विपक्षी सांसदहरू टसकामस नभएपछि सभामुख घिमिरेले आधा घण्टाको लागि बेठक स्थगित गरेका हुन् ।
यसअघि मंगलबार पनि प्रतिपक्षी दलहरूले संसद बैठक अवरुद्ध पारेका थिए । प्रतिपक्षको बटम लाईन गृहमन्त्रीको राजीनामा रहेको छ ।
प्रतिक्रिया दिनुहोस्: