कार्यपालिका बैठक बोलाउन माग राख्दै उपमेयरको नेतृत्वमा बालेनलाई पत्र
काठमाडौं । काठमाडौं महानगरपालिकाका कार्यपालिकाका सदस्यहरूले सात दिनमा बैठक राख्न माग गर्दै मेयर बालेन्द्र शाह बालेनलाई पत्र बुझाएका छन् ।
सोमबार उपमेयर सुनिता डंगोलसहित कार्यपालिकाका ४१ जना सदस्यहरूले मेयर शाहलाई पत्र लेख्दै चाँडो कार्यपालिका बैठक बोलाउन आग्रह गरेका हुन् ।
महानगरको कार्यपालिका बैठक गत पुस महिनायता बस्न सकेको छैन । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा १७ (१) अनुसार कार्यपालिका बैठक कम्तीमा महिनामा एकपटक बस्नुपर्ने कानुनी व्यवस्था छ ।
कार्यपालिका सदस्य नवीन मानन्धरले बैठक बस्न नसक्दा विकास निर्माण, नीतिगत निर्णयजस्ता महत्वपूर्ण विषयहरू अन्योलमा परेकोले बैठक राख्न माग गर्दै पत्र लेखिएको बताए । उनले भने, ‘असार १५ भित्र बजेट ल्याउनुपर्ने कानुनी बाध्यता छ । तर बैठक नबसी आर्थिक वर्ष २०८२–८३ को बजेट निर्माणका प्राथमिकतामाथि छलफल हुन सकेको छैन ।’
पटकपटक आग्रह गर्दा पनि बैठक नबोलाएको भन्दै सदस्यहरू मेयर बालेनसँग असन्तुष्ट छन् । बालेनले गरेका निर्णयहरु नै कायन्वयन हुन सकिरहेका छैनन् ।



प्रतिक्रिया दिनुहोस्: