Bagmati Samachar Logo

एमाले भन्यो गृहमन्त्री लेखकका बारेमा जे गर्छ, कांग्रेसले गर्छ

काठमाडौं । भिजिट भिसा नाममा विदेशमा मानव तस्करी गराउनेमा गृहमन्त्री रमेश लेखकको पनि नाम जोडिएको छ । केहि दिन यता लेखकमाथि प्रश्न उठीरहेको छ । आज सत्तारुढ दल नेकपा एमालेको सचिवालय बैठकमा पनि लेखकका बारेमा प्रश्न उठेको थियो ।

बैकठमा नेताहरुले गृहमन्त्री लेखकमाथि उठेका प्रश्नबारे सरकारको नेतृत्व गरिरहेको नाताले एमाले स्पष्ट हुनुपर्ने धारणा राखे भने केहीले यो कांग्रेसको मामला भएकाले उसैले निर्णय लिनुपर्ने भन्न थाले।

त्यसै बीचमा एमाले सचिव योगेश भट्टराईले गृहमन्त्री जोडिएर आएको भिजिट भिसा प्रकरणबारे जिज्ञासा राखेका थिए। उनले यसअघि संसदमा रवि लामिछानेका सन्दर्भमा लेखकले बोलेको सन्दर्भसमेत उठाउँदै भने, ‘पहिला उहाँ (लेखक) आफैले बोल्नुभएको रहेछ, प्रश्न उठेपछि राजीनामा दिनुपर्छ भनेर। अहिले उहाँकै विषयमा यस्तो कुरा आइरहेको छ। यो के हुन्छ ?’
त्यसपछि उपाध्यक्ष सुरेन्द्र पाण्डेले थपे, ‘यति गम्भीर प्रकरणमा नाम आइसकेपछि हामीमाथि पनि प्रश्न त उठ्छ होला नि ?’

ओलीले बैठकमा उठेको प्रश्न दिदै भनेका थिए, ‘हो, उहाँले पहिला त्यस्तो बोल्नुभएको रहेछ। त्यसले हामीलाई केही अफ्ठ्यारो त भएको छ,’ ओलीको भनाइ उद्धृत गर्दै बैठकमा सहभागी एक पदाधिकारीले भने, ‘तर, कर्मचारीमाथि कुनै अख्तियारप्राप्त निकायले छानबिन, अनुसन्धान गर्छ भने त्यो गर्न दिनुपर्छ। मन्त्रीसम्म त्यो कुरा (छानबिन) आएकै छैन भने राजीनामा दिनुपर्छ भन्ने कुरा गर्नु उचित हुँदैन। संसारमा यस्तो कहीँ पनि हुँदैन। यसरी त राज्य पनि चल्न सक्दैन।’

अनि पाण्डेले नै भने, ‘अब कांग्रेसकै पदाधिकारीको बैठक बस्दै रहेछ। उसले नै भनोस् न त, जे भन्ने हो। अहिले हामी बोल्नु उचित हुँदैन होला।’

त्यसपछि ओलीले पनि कुराको समापन गर्दै भने, ‘अहिलेसम्मको अनुसन्धान मन्त्रीसम्म आइपुगेको भन्ने मेरो जानकारीमा छैन। प्रश्न उठेकै आधारमा केही गर्नुपर्ने हो भने पनि जे गर्छ, कांग्रेसले गर्छ।’

आइतबार दिउँसो एमाले केन्द्रीय कार्यालय, च्यासल, ललितपुरमा बसेको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले गणतन्त्र दिवस भव्य मनाउन र राजावादीहरूका गतिविधिलाई निस्तेज पार्ने विषयमा पार्टी पंक्ति परिचालन गर्न भन्दै निर्देशन दिएका थिए।