सुनचाँदी जस्तो देखिने धातु र २९ लाख रूपैयाँ सहित एक जना पक्राउ

काठमाडौं । सुन र चाँदी जस्तो देखिने धातु र झन्डै २९ लाख रूपैयाँ नगदसहित प्रहरीले काठमाडौंबाट एक जनालाई पक्राउ गरेको छ।
काठमाडौंको कोटेश्वरबाट एक जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराले जानकारी दिए।
उनका अनुसार प्रहरीले शुक्रबार अपराह्न सुनको अवैध कारोबार भइरहेको भन्ने सूचना पाएको थियो। उक्त सूचनाका आधारमा प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको टोलीले योगेश श्रीमन्त मगरलाई पक्राउ गरेको हो।
पक्राउ परेका योगेशको घर भारत महाराष्ट्र सोलापुर हो। कोटेश्वरमा बसी श्रीराम ज्वेलर्स सञ्चालन गर्दै आएका २७ वर्षीय योगेशबाट प्रहरीले ७३४.२९ ग्राम सुन जस्तो देखिने धातु र साढे नौ किलो चाँदी जस्तो देखिने धातु बरामद गरेको हो। बरामद भएका धातु परीक्षण गर्न बाँकी रहेको प्रहरीले जानकारी दिएको छ ।
योगेशको साथबाट प्रहरीले २८ लाख ९३ हजार रूपैयाँ नगद पनि बरामद गरेको छ।
प्रतिक्रिया दिनुहोस्: