Bagmati Samachar Logo

एयरपोर्ट भन्सारमा प्रतिदिन करोडौं घोटाला हुने गरेको छ : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारमा प्रतिदिन करोडौंको घोटाला हुने गरेको दाबी गरेका छन् ।

जनतासँग माओवादी मध्यपहाडी लोकमार्ग जनजागरण अभियानको क्रममा शुक्रबार बागलुङ बजारमा आयोजित सभामा सम्बोधन गर्दै उक्त कुरा बताएका हुन् । सरकार भ्रष्टाचारीहरूको संरक्षण र दलालहरूको हित गर्नेतिर लागेको प्रचण्डले बताए।

उनले भने , ‘म प्रधानमन्त्री र नारायणकाजी श्रेष्ठ गृहमन्त्री भएको बेलामा हामीले एकपछि अर्को नीतिगत निर्णय गर्दै टाइप गर्दै रहेको कुरा अहिले एकै दिन एउटै रूटबाट पचासौं लाख सरकारको हातमा गइराखेको छ भ्रष्टाचारको रूपमा ।’N

उनले यस्तो अवस्थामा आर्थिक अवस्था नसुध्रिने भन्दै चिन्ता व्यक्त गरे । ‘यो स्थिति भएपछि कसरी आर्थिक गतिविधिमा सुधार हुन्छ निकै ठूलो चिन्ताको विषय भएको छ,’ उनले भने, ‘फेरि पनि हामीले सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिका पक्षमा लगातार जोड दिएका छौं ।’

उनले देश बन्दैन, कुनै पार्टी पनि राम्रा छैनन् भन्ने भाष्य बनेकोप्रति चिन्ता व्यक्त गरे।

प्रचण्डले भने, ‘यदि सरकारले आफूलाई सच्याउनेतिर गएन भने नेपालका निकै ठूलो जनआन्दोलनको स्थिति बन्नेछ । जनतामा दिनप्रतिदिन आवेग र आक्रोश बढ्दैछ। सरकार उल्टो बाटो चल्दै गएको छ। जति उल्टो बाटोमा चल्छ त्यति जनतामा आक्रोश बढ्छ।’

प्रचण्डले माओवादी अहिले जागरण अभियानमा सुशासनको पक्षमा निस्किएको दाबी गरे ।

उनले भ्रष्टाचारका गतिविधि नरोकिए आन्दोलनमा जाने चेतावनी दिए । ‘यदि उनीहरूले यसबाट शिक्षा लिंदैनन् भने सरकारका विरुद्ध आन्दोलित हुने तयारी गर्नु पनि हाम्रो उद्देश्य रहेको छ,’ उनले भने ।