बाबुरामले माओवादी युद्धमा थोरै मान्छे मारिएको बताएपछि द्वन्द्वपीडितको आपत्ति

काठमाडौं । पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले माओवादी युद्धमा भएको हताहति कम भएको बताएका छन् । उनले अन्य देशमा ठूला क्रान्ति हुँदा, द्वन्द्व हुँदा लाखौं मारिने, तर नेपालमा १७ हजार मात्रै मारिएको बताएपछि द्वन्द्वपिडितहरु आक्रोशित बने ।
नेपाल मानवअधिकार संगठनले बिहीबार काठमाडौंमा आयोजना गरेको मानव अधिकार र लोकतन्त्रमा संक्रमणकालीन न्यायको असर विषयक नागरिक स्तरीय छलफलमा नेसपाका अध्यक्ष भट्टराईले नेपालमा क्रान्तिमा तुलनात्मक रुपमा थोरै मानिसको मृत्युले आमूल परिवर्तन भएको र अब संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्याउनुपर्ने बताएका थिए ।
उनको वक्तव्यपछि आफूलाई द्वन्द्वपीडित बताउने सहभागीले उठेर प्रश्न गर्दै भने, ‘तपाईंले अरुतिर धेरै मानिस मरेको भन्नु भयो के नेपालमा अझै मान्छे मर्नु पर्थ्यो भन्नुभएको हो ? पूर्वप्रधानमन्त्रीले बोलेको यही हो ?’
त्यसपछि हतार हतार गर्दै भट्टराईलाई उनका सहयोगीहरुले बाहिर निकालेका थिए ।
भट्टराईले सशस्त्र द्वन्द्व राज्यपक्ष र सशस्त्र द्वन्द्वपक्षले बराबरी दायित्व लिएर शान्तिप्रक्रियालाई टुङ्गोमा पुर्याउनुपर्ने बताए । भट्टराईले सशस्त्र द्वन्द्वका समयमा राज्यको सेना र क्रान्तिकारी सेनागरि दुईथरी सेना रहेको र उनीहरुको द्वन्द्वका क्रममा १७ हजारको ज्यान गएको भन्दै बराबरी दायित्व लिएर शान्तिप्रक्रियालाई टुङ्गोमा पुर्याउनुपर्ने बताए ।
उनले विश्वमा भएका द्वन्द्वमा हजारौ लाखौं मारिएपनि नेपालमा भएको सशस्त्र द्वन्द्वमा १७ हजारको मात्रै मृत्यु भएको जिकिर गरे ।
तत्कालीन समयमा भएको त्रिपक्षीय राजनीतिक संघर्षपछि एक पक्ष निरंकुश राजतन्त्र अन्त्य भइसकेको अवस्थामा अब शान्तिप्रक्रियालाई टुङ्ग्याउनु राज्यपक्ष र सशस्त्र द्वन्द्वपक्षको बराबरीको दायित्व भएको उनले बताए ।
प्रतिक्रिया दिनुहोस्: