Bagmati Samachar Logo

लेखा समितिले पोखरा विमानस्थल निर्माणबारे उपसमितिको प्रतिवेदन अख्तियारमा पठाउने

काठमाडौं । सार्वजनिक लेखा समितिको बुधबारको बैठकले पोखरा विमानस्थल निर्माणसम्बन्धी प्रतिवेदन अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा पठाउने निर्णय गरेको छ।

सांसद राजेन्द्र लिङ्देन संयोजकत्वको उपसमितिले पोखरा विमानस्थल निर्माणमा झन्डै १० अर्ब अनियमितता भएको दाबी सहितको प्रतिवेदन तयार गरेको छ ।

यसबारे थप अध्ययन र दोषीउपर कारबाही गर्न समितिले अख्तियारमा प्रतिवेदन पठाउने निर्णय गरेको सभापति ऋषिकेश पोखरेलले जानकारी दिए।

नेकपा (एमाले) का केही सांसदहरूले प्रतिवेदनबारे कुरा उठाउँदै पुनः सम्बन्धित व्यक्तिहरूलाई समितिमा बोलाएर कुराकानी गर्नुपर्ने बताएका थिए। तर अरू पार्टीका सांसदहरूले प्रतिवेदन जस्ताको तस्तै अख्तियारमा पठाउनुपर्नेमा जोड दिएका थिए।
उपसमितिका संयोजक राजेन्द्र लिङ्देनले समितिले प्रतिवेदन अख्तियार पुर्‍याउँदैन भने आफू पुर्‍याउन जाने बताएका थिए ।  लिङ्देन संयोजकत्वमा गत वर्ष उपसमिति बनेको थियो।

उक्त समितिले केहि दिन पहिला प्रतिवेदन सरकारलाई बुझाएको थियो ।