लेखा समितिको बैठकमा एमाले र माओवादी सांसदहरूबीच भनाभन

काठमाडौं । सार्वजनिक लेखा समितिको बैठकमा नेकपा एमालेका र माओवादीका सांसदहरूबीच भनाभन भएको छ ।
बुधबार सिंहदरबारमा बसेको लेखा समितिको बैठकमा एमाले र माओवादीका सांसदहरूबीच विवाद भएपछि भनाभन भएको हो । समितिको बैठकमा प्रतिपक्षी दल माओवादी केन्द्रका सांसद अमनलाल मोदीले बोलिरहेको बेला एमाले सांसद योगेश भट्टराईले प्रतिवाद गरेपछि केही बेर भनाभन भएको हो ।
बैठकमा माओवादी केन्द्रका सांसद मोदीले सार्वजनिक लेखा समितिको सभापति ऋषिकेश पोखरेल सत्तापक्षको भएकाले उपसमितिले तयार पारेका प्रतिवेदन प्रभावकारी रूपमा कार्यान्वयन हुन नसकेको बताउँदै गर्दा भट्टराईले प्रतिवाद गर्न सुरु गरे ।
योगेशले मोदीको प्रतिवाद गर्न थालेपछि माओवादीका सांसदले एमालेबाहेक छलफल गरौँ भनेका थिए । सांसद मोदीले भने, ‘एमाले पहिले बोलेपछि हामीले बोल्ने ? एमालेको सबैभन्दा पहिला कसरी बोल्ने पालो आयो ?’
त्यसपछि मोदीको समर्थनमा स्वतन्त्र सांसद डा. अमरेश सिंह बोल्न थाले । सांसद सिंहले सरकारको नेतृत्वकर्ता दल एमालेकै सांसद सभापति हुँदा प्रतिवेदन कार्यान्वयनमा कठिनाइ भएको बताए । ‘जुन दलको नेतृत्वमा सरकार छ, जुन दलको प्रधानमन्त्री हुनुहुन्छ, त्यही दलको सांसद समितिको सभापति हुँदा यो हविगत भयो,’ सिंहले भने, ‘उहाँले एमालेका सांसदहरूलाई मात्रै बोल्न दिनुभयो ।’
सिंहले मोदीकै भनाइमा सही थाप्दै सभापति पोखरेल पूर्वाग्रही भएको बताएपछि त्यसको जवाफ फेरि पोखरेलले दिन थाले । सभापति पोखरेलले जवाफ दिँदै भने, ‘माननीयज्यू गलत रूपमा व्याख्या नगरौँ । र, बैठकलाई दलीयकरण पनि नगरौँ ।’
अनि एमाले सांसद गोकुल बाँस्कोटाले आफू के एमालेभएरै बोलेको हो भन्दै प्रतिप्रश्न गरेका थिए । त्यसपछि नेकपा एकीकृत समाजवादीका सांसद प्रेम आलेले योगेश भट्टराईले दुईपटक कुरा राखेको प्रसंग उठाएका थिए । आलेको कुरा भुईंमा खस्न नपाउँदै योगेशले प्रतिप्रश्न गरिहाले, ‘मैले कुरा राख्न नपाउने ? मैले कुरा राख्न पाउने नपाउने तपाईंले डिक्लियर गरिदिने को हो तपाईं ?’
त्यसपछि माओवादी सांसद मोदीले समितिको सभापति प्रमुख प्रतिपक्षलाई दिुन पर्दैन त भन्दै प्रश्न गरे । त्यसपछि सभापति पोखरेले अमन मोदीको पालो भएकाले बोल्न आग्रह गरे ।
सांसद मोदीले अमन मोदी नभएर अमनलाल मोदी भन्न आग्रह गरेपछि सभापति पोखरेलले पूर्वमन्त्री आदरणीय अमनलाल मोदी भन्दै बोल्न आग्रह गरे । मोदीले पूर्वमन्त्री भनिरहन जरुरी नरहेको बताए ।
प्रतिक्रिया दिनुहोस्: