रेशमलाई पक्राउ गर्न अनधिकृत पत्र लेख्ने सर्वोच्चका अधिकृत महिमानसिंह धरौटीमा रिहा

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीलाई पक्राउ गर्न अनधिकृत पत्र लेख्ने सर्वोच्च अदालतका शाखा अधिकृत महिमानसिंह विष्ट धरौटीमा रिहा भएका छन् ।
सोमबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश दिनबन्धु बरालको एकल इजलासले सर्वोच्च अदालतका शाखा अधिकृत विष्टलाई एक लाख रुपैयाँ धरौटीमा छोड्न आदेश दिएको हो । विष्टले १७ गते वैशाख नाउपाका संरक्षक चौधरीलाई पक्राउ गर्न अनधिकृत पत्र लेखेर पक्राउ गराएका थिए । उनलाई त्यहि दिन दिउँसो अनधिकृत रुपमा पत्र लेखेको भन्दै प्रहरीले पक्राउ गरेको थियो ।
विष्टले लेखेको अनधिकृत पत्रका आधारमा प्रहरीले चौधरीलाई कमलादीस्थित प्रज्ञा प्रतिष्ठानबाट पक्राउ गरी डिल्लीबजार कारागार पठाएको थियो । चौधरीले उक्त पत्रका कारण पाँच घण्टा डिल्लीबजार कारागारमा बसेका थिए । तर, उक्त पत्र आधिकारिक नभएको पुष्टि भएपछि चौधरी रिहा भएका थिए । त्यहि दिन नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीबीच एकता हुने भनिएको थियो । तर चौधरी पक्राउ परेपछि एकता पनि हुन सकेन । अहिलेसम्म भएको छैन ।
प्रतिक्रिया दिनुहोस्: