Bagmati Samachar Logo

माओवादीसँग गठबन्धन गर्ने कुनै योजना छैन : कांग्रेस

काठमाडौँ । नेपाली कांग्रेसले अहिलेको सत्तारुढ गठबन्धन परिवर्तन नगर्ने बताएको छ । संसद भवन नयाँ बानेश्वरमा शनिबार बसेको पार्टीको संसदीय दलको बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै प्रमुख सचेतक श्याम घिमिरेले माओवादीसँग गठबन्धन गर्ने कुरा वा सरकार परिवर्तनको योजना नरहेको बताएका हुन् ।

प्रमुख सचेतक घिमिरेले पार्टी सभापतिले माओवादी नेताहरूसँग छलफल गर्नु सामान्य भएको भन्दै माओवादीसँग गठबन्धन गरेर जाने कुनै सम्भावना नरहेको स्पष्ट पारे । उनले गभर्नर नियुक्तिको विषय प्राविधिक कारणले ढिलाइ भएको र यसमा सत्ता साझेदार दल नेकपा एमालेले दिन नचाहेको भन्ने कुरामा पनि कुनै सत्यता नरहेको जिकिर गरे । उनले अब चाँडै नै गभर्नर नियुक्ति हुने पनि स्पष्ट पारे ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टी सभापति शेरबहादुर देउवाबचि भएको फोन सम्वाद सामान्य भएको कांग्रेसले बताएको छ । यसमा सरकार परिवर्तनको कुनै गुञ्जायस नरहेको घिमिरेले बताए । दुई पार्टीको गठबन्धन रहेको अवस्थामा कांग्रेसका कुराहरू यथेष्ट सुनिएन की भन्ने चिन्ता सांसदहरूले बैठकमा गरेका छन् । कतिपय नियुक्तिमा भइरहेको ढिलाइका विषयमा पनि सांसदहरूले चासो व्यक्त गरेको उनले जानकारी दिए ।

नेपाली कांग्रेसका सांसदहरूले सरकारको कार्यशैली प्रति भने असन्तुष्टि जनाएका छन् । बैठकमा कांग्रेस सांसदहरूले सरकार एकतर्फी ढंगले अघि बढिरहेको र कांग्रेसको कुरा नसकेको भन्दै सरकारको कार्यशैली प्रति असन्तुष्टि जनाएका हुन् । साथै उनीहरूले गभर्नर लगायतका विभिन्न नियुक्ति विनाकारण अड्काएर राखेको समेत बताएका थिए ।

बैठकमा सांसदहरूले समान ढंगले बजेटको वितरण हुनुपर्ने लगायतका सुझाव दिएका थिए । आजको बैठकमा बजेटलगायतका विविध विषयमा छलफल गरिएको थियो । प्रमुख सचेतक घिमिरेका अनुसार सांसदहरूले बजेटको विषयमा भएको छलफलमा सक्रियतापूर्वक सहभागिता जनाएका थिए । उनले भने, ‘सांसदहरूले बजेट वितरणको कुरा, सबैलाई समान ढंगले वितरण गर्नुपर्ने कुरा तथा सन्तुलित विकास हुनुपर्ने कुरा राखेका थिए ।