गभर्नर नियुक्तिमा नयाँ मोड, सिफारिस समितिबाट विश्व पौडेलले दिए राजीनामा

काठमाडौं । गभर्नर सिफारिस समितिबाट विश्व पौडेलले पनि राजीनामा दिएका छन् । उनले अर्थमन्त्री विष्णु पौडेललाई आइतबार राजीनामा बुझाएका हुन् ।
कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारी बैठकमा पौडेलको नाममा नयाँ गभर्नरका लागि छलफल भएको थियो ।
नयाँ गभर्नर नियुक्ति सिफारिसका लागि सरकारले चैत ११ गते उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा ३ सदस्यीय सिफारिस समिति बनाएको थियो । उक्त समितिमा विज्ञको तर्फबाट पौडेल सदस्य बनेका थिए ।
सिफारिस समितिका सदस्य रहेका विश्व पौडेललाई गभर्नर बनाउन कांग्रेसले आन्तरिक छलफल थालेको चर्चा चलेसँगै उनले राजीनामा दिएका छन् । पौडेललाई गभर्नर बन्नका लागि उनले समितिको सदस्यबाट राजीनामा दिनुपर्ने हुन्छ । जसका लागि उनले सदस्यबाट राजीनामा दिएका हुन् ।
उनको राजीनामासंगै गभर्नर सिफारिस समिति सुरूवातकै चरणमा पुगेको छ । समितिका अर्का सदस्य तत्कालीन गभर्नर महाप्रसाद अधिकारीविरूद्व पनि सर्वोच्चमा रिट दर्ता भएको छ ।
नेपाल राष्ट्र बैंकको गभर्नर पद गएको चैत्र २४ गतेदेखि रिक्त रहेको छ । डेपुटी गभर्नर निलम ढुङ्गानाले कामु गभर्नरको रूपमा जिम्मेवारी सम्हाली रहेकी छन् । यो भन्दा पहिला कांग्रेसबाट गुणकर भट्ट गभर्नर हुने चर्चा चलेको थियो । उनले राष्ट्र बैठकको कार्यकारी निर्देशकबाट राजीनामा दिएका थिए । तर ढुङगानाले उनको राजीनामा सिफारिस नगरेपछि पौडेलको नाम चर्चामा आएको छ ।
प्रतिक्रिया दिनुहोस्: