Bagmati Samachar Logo

एसनिकट युवा संघमा विवाद, झलनाथ समूहले दियो निर्णय फिर्ता लिन अल्टीमेट

काठमाडौं । नेकपा एकीकृत समाजवादीनिकट युवा संघमा फेरि विवाद सुरु भएको छ । युवा संघका इन्चार्ज लक्ष्मण केसीले एकाएक युवा संघको संयोजकमा रोशन थापालाई चयन गरेपछि उक्त निर्णय एकलौटी रूपमा गरेको भन्दै अर्को पक्षले विरोध गर्दै विज्ञप्ति निकालेको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘युवा संघ पदाधिकारीहरू एवं कार्यालय कमिटीका सदस्यहरूसँग कुनै छलफल र बैठक नगरी संयोजक, सहसंयोजकहरू र पार्टी केन्द्रीय निकायको जिम्मेवारीमा रहेका कमरेडलाई समेत सदस्य तोकी कार्यदल बनाउने निर्णय गरेको प्रति हाम्रो घोर आपत्ति छ । साथै, पार्टी आन्दोलनलाई तहसनहस पार्ने र फेरि युवा संघमा भाँडभैलो मच्चाउने षड्यन्त्रप्रति सचेत हुनुपर्छ ।’

उक्त निर्णय नसच्याए कडा कदम चाल्ने चेतावनी दिइएको छ । विज्ञप्तिमा भनिएको छ, ‘युवा संघ नेपालको विधान, पद्धति र प्रक्रियाको पालना गर्दै युवा आन्दोलनलाई गलत दिशाबाट जान रोक्न हाम्रो जिम्मेवारी र जवाफदेहिताको बोध गरी यो गलत अभ्यास र निर्णयका सम्बन्धमा हामी कडा कदम चल्न बाध्य हुने जानकारी गराउँछौँ ।’

विज्ञप्ति निकाल्नेमा उपमहासचिवद्धय सञ्जीव राई , निर्भीक खनाल , सचिवद्धय भेषराज शाह र अनिल बोगटी रहेका छन् । विज्ञप्तिमा अगाडि भनिएको छ, ‘संगठनको मर्म, विधिविधान, पद्धति र प्रक्रियाको खिल्ली उडाएको छ । युवा संघको इतिहासलाई कलंकित बनाएको छ । यस प्रकारका अभ्यासले संगठनलाई गलत दिशामा डोर्‍याउनेछ । यसर्थ संघका विधान र पार्टी निर्देशनको खिलाफमा गरेका निर्णयलाई अविलम्ब सच्याउनका लागि जोडदार माग गर्दछौँ ।’

संयोजक तोकिएका थापा अध्यक्ष माधवकुमार नेपाल समूहका हुन् । विज्ञप्ति निकालेर उक्त निर्णय सच्याउन माग गर्ने सम्मानित नेता झलनाथ खनालनिकट हुन् । नेकपा एसले केही समयपहिला बसेको केन्द्रीय कमिटी बैठकबाट केन्द्रीय सदस्य भएका जनवर्गीय संगठनका अध्यक्षहरूलाई संगठनबाट बिदाइ गरेर पार्टीको मात्र जिम्मेवारीमा पठाएको थियो ।

कृष्णकुमार विक अध्यक्ष थिए । उनी केन्द्रीय सदस्य भएपछि भदौमा महाधिवेशन गर्ने भन्दै थापालाई संयोजक तोकिएको छ । तर, उक्त निर्णय पार्टीको अपानीविरुद्धमा भएको भन्दै खनालपक्षकाले विरोध जनाएका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘पुनारुत्थानवादी शक्तिहरू र लोकप्रियतावादीहरूको अराजकताले गणतन्त्रमाथि खतरा बढाइरहेको छ । नेपाली जनतामा निराशा र आक्रोश व्याप्त छ । भ्रष्टाचार र कुशासन बढ्दो छ । आज यसका विरुद्ध युवा संघ नेपाल आन्दोलित हुँदै पार्टीले सञ्चालन गरेको सुशासन र रोजगारी, समाजवादको तयारीलाई सफल बनाउनु छ ।’