Bagmati Samachar Logo

भारत र पाकिस्तानबीच युद्धविराम उल्लंघन गरेको भारतीय मिडियाको दाबी

काठमाडौं । शनिबार साँझ ५ बजे भारत र पाकिस्तानबीच तत्काल र पूर्ण युद्धविराम लागू भएको घोषणा गरिएको थियो। तर, युद्धविराम भएको तीन घण्टापछि नै पाकिस्तानले उक्त सहमति उल्लंघन गरेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । रात ८ बजेदेखि पाकिस्तानतर्फबाट जम्मू–कश्मीरको अखनूर, पुंछ, नौशेरा, श्रीनगर, आरएसपुरा, सांबा र उधमपुरमा गोलीबारी भइरहेको छ। राजौरीमा तोप र मोर्टार प्रहार गरिएको छ भने उधमपुरमा ड्रोनमार्फत आक्रमण भएको दैनिक भारत, आजतक लगायतका मिडियाले दाबी गरेका छन् ।

जम्मू–कश्मीरका मुख्यमन्त्री उमर अब्दुल्लाले टिप्पणी गर्दै भने, ‘यो कस्तो युद्धविराम होरु श्रीनगरमा विस्फोटको आवाज सुनिएको छ।’

सीमावर्ती क्षेत्रमा फेरि ब्ल्याकआउट

युद्धविरामको घोषणापछि जम्मू(कश्मीर, राजस्थान र पञ्जाबका सीमावर्ती जिल्लाहरूमा लागू गरिएको ब्ल्याकआउट हटाइएको थियो। तर, पाकिस्तानले जम्मू–कश्मीरमा गोलीबारी शुरू गरेपछि ती क्षेत्रमा पुनः ब्ल्याकआउट लागू गरिएको छ। सीमावर्ती जिल्लाहरूको विद्युत आपूर्ति काटिएको छ। स्थानीय प्रशासनले सर्वसाधारणलाई घरबाट बाहिर ननिस्कन निर्देशन जारी गरेको छ ।

पृष्ठभूमि

यसअघि भारतका विदेशमन्त्री एस जयशंकर, विदेश सचिव विक्रम मिस्री, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र पाकिस्तानका उपप्रधानमन्त्री इसहाक डारले युद्धविरामको सहमति भएको पुष्टि गरेका थिए। तर, पाकिस्तानको पछिल्लो कदमले यो सहमति खतरामा परेको छ। भारतले पाकिस्तानमाथि लामो दूरीका हाई स्पीड मिसाइल प्रयोग गरेको आरोपसमेत लगाएको छ।