भारतको हमलामा महिला र बालबालिकाकाे मृत्यु भएकाे पाकिस्तानकाे दाबी

काठमाडौं । भारतले पाकिस्तानमाथि गएराती गरेको मिसाइल हमलापछि कश्मीर क्षेत्र अशान्त बनेको छ । महिला र बालबालिका प्रभावित भएका छन् ।
यसबीच पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले भारतले लगाएका आरोपहरुको खण्डन गर्दै भारतले गरेको आक्रमणको उचित जवाफ दिने बताएका छन् ।
सामाजिक सन्जाल एक्स अकाउन्टमा उनले लेखेका छन्, ‘भारतले पाकिस्तानका पाँच स्थानमा कायरतापूर्वक आक्रमण गरेको छ । पाकिस्तानलाई यस युद्धकार्यको कडा जवाफ दिने पूरा अधिकार छ र जवाफ दिइँदैछ ।’ उनले पाकिस्तानका सम्पूर्ण जनता पाकिस्तानी सेनासँग एक भएर उभिएका र देशको मनोबल उच्च भएको पनि उल्लेख गरेका छन् ।
पाकिस्तानका प्रधानमन्त्रीले भनेका छन्, ‘पाकिस्तान र पाकिस्तानी सेनालाई थाहा छ कसरी दुश्मनसँग व्यवहार गर्नुपर्छ । हामी कहिल्यै पनि शत्रुलाई उसको उद्देश्यमा सफल हुन दिनेछैनौं ।’
पाकिस्तानका रक्षामन्त्री ख्वाजा आसिफले भारतले आतंकवादी ठेगानामा आक्रमण गरेको प्रचार गरे पनि सर्वसाधारण नागरिकको बस्तीमा आक्रमण भएको बताएका छन् । भारतको आक्रमणबाट एक महिला र दुई बच्चा समेत मारिएको उल्लेख गर्दै उनले अन्तर्राष्ट्रिय मिडियाहरुलाई घटनास्थलमा आएर हेर्न अनुरोध पनि गरेका छन् ।
उनले भनेका छन्, ‘उनीहरूले (भारतले) दाबी गरेका छन् कि आतंकवादी ठिकानाहरूलाई निशाना बनाएका छन् । म अन्तर्राष्ट्रिय मिडियालाई आग्रह गर्छु कि ती सबै स्थानहरू आफैं आएर हेर्नुहोस् ती आतंकवादी ठिकाना थिए वा नागरिक बस्ती । ती ठाउँहरूमा हाम्रो दुईवटा मस्जिद पनि थिए । दुई बालक शहीद भएको छ, एक महिला शहीद भएकी छन् । मसँग हाल मृत्युसंख्या अपडेट छैन । तर यी सातवटा पुष्टि भएका टार्गेटमध्ये दुई कश्मीरमा र पाँच पाकिस्तानमा छन् । यी सबै निशाना नागरिक बस्तीमा थिए ।’
प्रत्यक्षदर्शीहरूको बयान
बीबीसीसँगको कुराकानीमा केही प्रत्यक्षदर्शीहरूले आक्रमण भएका स्थानहरूमा हालको अवस्थाबारे बताएका छन् ।
मूजफ्फराबादका बासिन्दा शहनवाजले भनेका छन्, ‘हामी आफ्ना घरहरूमा गहिरो निद्रामा थियौं, अचानक विस्फोटका आवाजले हामीलाई झस्कायो । अहिले हामी परिवार, महिला र बालबालिकासहित बाहिर छौं र सुरक्षित स्थानहरूको खोजीमा छौं ।’
उनका अनुसार शहरमा त्रासको वातावरण छ । अझै धेरै हमला हुन सक्ने त्रासमा उनीहरु छन् ।
मूजफ्फराबादमा बिलाल मस्जिद नजिकै आक्रमण भएको स्थानका बासिन्दा मोहम्मद वहिदले गहिरो निद्रामा रहेका बेला पहिलो विस्फोटले आफ्नै घर नै हल्लिएको बताएका छन् ।
उनले भनेका छन्, ‘म तुरुन्त बाहिर दौडिएँ । अरू पनि बाहिर निस्किएको देखेँ । हामीले के भइरहेको छ भन्ने बुझ्न नपाउँदै थप तीनवटा मिसाइल खसे, जसले सिंगो क्षेत्रमा आतंक फैलिएको छ ।’ वहीदका अनुसार आक्रमणमा परी दर्जनौं महिला र पुरुष घाइते भएका छन् ।
प्रतिक्रिया दिनुहोस्: