एमाले बैठकमा केपी ओली र अष्टलक्ष्मी शाक्यबीच सवालजवाफ

काठमाडौं । नेकपा एकालेको पदाधिकारी बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र उपाध्यक्ष अष्टलक्ष्मी शाक्यबीच सवालजवाफ भएको छ । केहि दिन पहिला शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीबाट विद्या भट्टराईले राजीनामा दिएको विषयलाई लिएर अध्यक्ष ओली र उपाध्यक्ष शाक्यबीच सवालजवाफ भएको हो ।
केन्द्रीय मुख्यालय च्यासलमा आइतबार अपरान्ह बसेको बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीले भट्टराईले काम गर्न नसकेर मन्त्री पदबाट राजीनामा दिएको प्रसंग उठाएका बैठकमा सहभागी एक नेताले बताए । ती नेताले ओलकिो भनाइ भन्दै भनेका छन्, ‘काम गर्न नसकेर राजीनामा दिएको हो, तर त्यो कुरालाई लिएर मलाई अप्ठ्यारो पार्न खोजियो ।’
भट्टराईले राजीनामा दिए पछि शाक्यले स्टाटस लेखेकी थिइन् । उक्त स्टाटसको आशय ओलीले सहयोग नगर्दा भट्टराईले राजीनामा दिन बाध्य भएको थियो । उक्त स्टाटसमा उपाध्यक्ष शाक्यले गलत व्याख्या गरेको ओलीले बैठकमा भनेका थिए । ‘स्टाटसमा लेख्नुभएको जस्तो कुरा होइन, क्षमता र योग्यता नभएर राजीनामा गर्नुभएको हो ।’
‘शिक्षक आन्दोलन चलिराखेको बेला शिक्षामन्त्री विद्या भट्टराईले राजीनामा किन दिनुपर्यो ? विद्या भट्टराई सक्षम, इमान्दार, उच्च नैतिकता भएको एउटा असल नेता भएको कारणले राजीनामा दिनु परेको हो ?’, शाक्यको प्रश्न थियो ।
बैठकका एक सहभागीका अनुसार उपाध्यक्ष शाक्यले उल्टै ओलीको शैलीप्रति प्रश्न गरिन् ।
‘मलाई लाग्यो, विद्या भट्टराई योग्य र क्षमता भएकी नेतृ हुन् । त्यसैले उनलाई हौसला दिनेगरी त्यो (स्टाटस) लेखेको थिएँ’, शाक्यको जवाफ थियो ।
‘ल मैले विद्या भट्टराई योग्य नेतृ भन्ने लागेर त्यस्तो लेखे । तर तपाईंले पनि आफ्नै कमिटीका नेता बारेमा बाहिर–बाहिर स्पष्टीकरण सोधिन्छ भन्दै बोल्दै किन हिँड्नु भएको रु,’ शाक्यको प्रश्न थियो ।
गत १३ वैशाखको संसदीय दलको बैठकमा प्रधानमन्त्री ओलीले शाक्यबारे बोलेका थिए । विद्या भट्टराईलाई हिरो बनाउनेगरी उपाध्यक्षले नै बोलेकाले स्पष्टीकरण सोधिन सक्ने ओलीले संकेत दिएका थिए ।
त्यही कुरालाई आजको सचिवालय बैठकमा शाक्यले उठाएकी थिइन् ।
प्रतिक्रिया दिनुहोस्: