नीति तथा कार्यक्रममा सत्ता र प्रतिपक्षको टिप्पणी : टोले गुन्डाको चन्दादेखि बासी कार्यक्रमसम्म

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत आगामी आर्थिक वर्ष २०८२–८३ को नीति तथा कार्यक्रमबारे सांसदहरूले मिश्रित प्रतिक्रिया दिएका छन् ।
नीति तथा कार्यक्रमबारे सांसदहरूले आफूअनुकुल र मिश्रित प्रतिक्रिया दिएका हुन् । सत्तापक्षले ठीकठाक रहेको बताइरहँदा विपक्षी नेताहरूले आलोचनात्मक टिप्पणी गरेका छन् ।
पूर्वअर्थमन्त्री एवं प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले सरकारलाई गन्तव्यविहीन, योजनाविहीन र अलमलिएको आरोप लगाउँदै नीति तथा कार्यक्रम पनि त्यसैअनुसार आएको टिप्पणी गरे । ‘सरकार अलि गन्तव्यविहीन चलिरहेको छ, नीति पनि त्यहीअनुसार देखिन्छ,’ उनले भने । आफूखुसी बजेट ल्याउन यस्तो नीति तथा कार्यक्रम ल्याइएको पुनको शंका छ । ‘संसदलाई छल्न खोजिएको जस्तो देखिन्छ,’ उनले भने, ‘आफूखुसी बजेट बनाउन यस्तो नीति ल्याइएको हुन सक्छ ।’
यस्तो नीति तथा कार्यक्रमले आर्थिक सुशासन र दिगो विकासमा योगदान दिन नसक्ने पुनको भनाइ छ । ‘बजेट पनि यस्तै निरस, अमूर्त र गन्तव्यहीन आउने संकेत देखिएको छ,’ उनले भने, ‘यसले आर्थिक सुशासन र दिगो विकासमा योगदान पुर्याउन सक्दैन ।’
विगतको सरकारले दर्जनौँ नयाँ कार्यक्रम ल्याए पनि अहिलेको सरकारले रोकेको आरोप पुनको छ । ‘विगतको सरकारले नयाँ दर्जनौँ कार्यक्रम घोषणा गरेर कार्यान्वयनको लागि संकल्प गरेको थियो, त्यसलाई अहिले रोकिएको छ,’ पुनले भने, ‘तिनीहरूलाई के गर्ने, त्यसमा स्पष्ट केही आएको छैन ।’
पूर्वप्रधानमन्त्री तथा नेसपा (नयाँ शक्ति)का अध्यक्ष बाबुराम भट्टराईले सरकारले सबैलाई खुसी पार्ने गरी नीति तथा कार्यक्रम ल्याएको बताए । ‘उहाँहरूले सबैलाई खुसी पार्छु भन्ने ढंगले नीति तथा कार्यक्रम ल्याउनुभयो, त्यो सम्भव छैन,’ उनले भने ।
भट्टराईले सुशासनलाई प्राथमिकता दिनुपर्ने भए पनि त्यसरी नआएको बताए । सुशासन कायम गर्ने अंगहरूलाई समेत बलियो बनाउँछौँ भन्नसमेत नसकेको उनले बताए । ‘अर्थतन्त्र र सुशासनको क्षेत्रमा प्राथमिकता दिनुपर्ने हो,’ भट्टराईले भने, ‘सुशासन कायम गर्ने अंगहरूलाई बलियो बनाउँछौँ, सुधार गर्छौं भन्न सक्नुपर्थ्यो । त्यो भन्न सकेको छैन ।’
अर्को विपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद शिशिर खनालले सरकार थाकेर, हारेर, कल्पनाशीलता गुमाएर नीति तथा कार्यक्रम ल्याएको बताए । नीति तथा कार्यक्रममा कुनै पनि नयाँपन नभएको टिप्पणी उनको छ । ‘यो अत्यन्तै सरकार थाकेर, हारेर, कल्पनाशीलता गुमाएर केही पनि नयाँ सिर्जनशील कामको घोषणा गर्न सकेको छैन,’ उनले भने ।
सरकारमा कल्पनाशीलता नदेखिएको खनालले बताए । ‘२०७४ को चुनावपछि दुईतिहाइको सरकार बन्दा पूरा गर्न नसकिने हावादारी भए पनि सुन्दा रमाइलो लाग्ने कार्यक्रम देखिन्थ्यो,’ उनले भने, ‘तर, आज यो सरकारमा कल्पनाशीलता कतै पनि देखिँदैन ।’
अर्को प्रतिपक्षी दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानबहादुर शाहीले नीति तथा कार्यक्रम टोले गुन्डाले उठाएको चन्दाजस्तो भएको आरोप लागाएका छन् । ‘सरकारको नीति तथा कार्यक्रम पुरानैमा नयाँ शब्द थपिएको छ । कुनै नयाँ कुरा छैन । टोले गुन्डाले उठाएको चन्दाजस्तो देखिन्छ ।
प्रतिक्रिया दिनुहोस्: