Bagmati Samachar Logo

शिक्षकको आवाज दमन होइन, सम्बोधन गरियोस् महामन्त्री : गगन थापा

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगन थापाले शिक्षकहरूको आवाजलाई दमन होइन, संवादबाट सम्बोधन गर्न सरकारलाई आग्रह गरेका छन् ।

शिक्षक र सुरक्षाकर्मीहरूबिच आइतबार भएको झडप दुःखद र चिन्ताजनक भएको बताएका छन् । उनले समाजिक सञ्जालमा लेखेका छन्, ‘ लोकतान्त्रिक मूल्य र नागरिक अधिकारको रक्षा गर्नु राज्यको पहिलो दायित्व भए हो । शान्तिपूर्ण आन्दोलनमा सहभागी शिक्षक, सुरक्षाकर्मी र पत्रकार घाइते हुनु कुनै पनि हिसाबले उचित नहुने र घाइते सम्पूर्ण शिक्षक, सुरक्षाकर्मी र पत्रकारहरूको शीघ्र स्वास्थ्य लाभको कामना छ ।’

शिक्षकको आवाजलाई दमन होइन सम्बोधन गर्न सुझाव दिएका छन् । उनले लेखेका छन्, ‘शिक्षकहरूको आवाजलाई दमन होइन, संवादबाट सम्बोधन गरौँ। आन्दोलनरत शिक्षकहरु संग भएको विगतको सहमतिको आधारमा निर्णय गरेर चाँडोभन्दा चाँडो कक्षाकोठामा फर्कने वातावरण बनाउनमा नै हामी सबैले काम गर्नु पर्ने छ, त्यही गरौं।’

थापा सुरुबाट नै शिक्षकका तत्काल सकिने माग तत्काल र पछि सकिने माग पछि सम्बोधन गरेर सुल्झाउन सुझाव दिदै आएका छन् ।

शिक्षक र प्रहरीबिच आज भएको झडपमा पत्रकार सविना कार्की घाइते भएकी थिइन् । तीन साताभन्दा लामो समयदेखि शान्तिपूर्ण ढंगले चलेको शिक्षकहरूको आन्दोलनले भने आज एक्कासि उग्र रूप लिएको थियो । यस क्रममा आज ६३ जना शिक्षक तथा विद्यालय कर्मचारी घाइते भएका थिए ।