Bagmati Samachar Logo

राजनीतिक संस्कार चित्त नबुझेकाहरू एकै ठाउँमा आउनैपर्छ : सुमना

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सहमहामन्त्री सुमना श्रेष्ठले राजनीतिक संस्कार चित्त नबुझेकाहरू एकै ठाउँमा आउनुपर्ने बताएकी छन् । बिहीबार केन्द्रीय समिति बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै श्रेष्ठले यस्तो बताएकी हुन् । उनले भनिन्, ‘हामी जति जनालाई यो चित्त बुझेको छैन, पात्र मात्र होइन, राजनीतिक संस्कार चित्त नबुझेकाहरू सबै एक ठाउँमा आउनैपर्छ ।’

उनले पार्टीबाट निर्णय गरेर राजनीतिक संस्कारसँग चित्त नबुझेको बताइन् । उनले भनिन्, ‘म के कुरामा सहमत छु भने पुरानो संस्कार भएन भन्ने सबै साथीहरू एक ठाउँमा आउनुपर्छ, फोरम र एलाइन्स बनाउनुपर्छ । विकृतिका विरुद्धमा लड्नुपर्छ भन्नेमा दुईमत छैन ।’ उनले आफूले केन्द्रीय समितिमा पनि यही कुरा भनेको बताइन् ।

सुमनाले आफ्नो राजीनामाको विषय पार्टीभित्रबाट गलत समयमा सार्वजनिक गरिएको भन्दै असन्तुष्टि जनाइन् । आफूले दुई हप्ताअगाडि नै राजीनामा दिएको तर हालसम्म स्वीकृत नभएको उनको भनाइ छ ।

उनले भनिन्, ‘दुई हप्ता अगाडि चैत १८–१९ गते दिएको हो राजीनामा । तर शुक्रबार सभापतिज्यू पक्राउ परेपछि यसलाई होल्ड गरौँ भन्ने भयो । तर आज बिहान मलाई तारन्तार फोन आयो । राजीनामाको कुरा सोधियो । कहाँबाट थाहा पाउनुभयो भन्दा त बिहान तपाईंको पार्टी भित्रैबाट आएको हो भन्ने कुरा गर्नुभयो । मैले यो होल्ड गरौँ, मैले केन्द्रीय समितिमा राखेको छैन भनेको थिएँ । तर बाहिर छ्याप्छ्याप्ती भइसकेको रहेछ ।’

उनले आफूले दुई हप्ताअगाडि राजीनामा दिँदा पार्टी सभापति रवि लामिछाने बाहिरै रहेको बताइन् । उनले भनिन्, ‘उहाँ (रवि लामिछाने) पार्टीमा फर्किएर हामी एकदम एक्साइटेड थियौँ । शुक्रबार नै यस्तो हुन्छ भनेर अनुमान गरेका थिएनौँ । मेले राजीनामा दिएको समय सही थियो । तर, अहिले गलत समयमा प्रचारमा ल्याइयो ।’