Bagmati Samachar Logo

ओलीले प्रदेश प्रमुख बनाएका डा. अहिराजविरुद्ध नावालिग करणीमा पक्राउ पुर्जी जारी

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुदा मधेश प्रदेशका प्रदेश प्रमुख बनाएका पूर्वप्रमुख डा. राजेश अहिराजका विरुद्ध जबर्जस्ती करणी मुद्दामा पक्राउ पुर्जी जारी भएको छ ।

जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता एसपी अपिलराज बोहोराका अनुसार प्राप्त जाहेरीका आधारमा अनुसन्धान जारी छ । जाहेरवाला पक्षको दाबी पुष्टि हुने नहुने कुरा अनुसन्धानपछि मात्रै भन्न सकिने उनले बताएका छन् । फौजदारी कसुरमा काठमाडौँ जिल्ला अदालतले उनीविरुद्ध पक्राउ अनुमति जारी गरेको हो ।

चैत २५ मा उनीविरुद्ध अदालतबाट पुर्जी जारी भएको हो । उनीविरुद्ध फौजदारी कसुरमा जाहेरी परेको भनिए पनि प्रहरीले औपचारिक रुपमा सो विषय सार्वजनिक गर्न अस्वीकार गरेको छ ।

जाहेरीमा डा. अहिराजले मधेशमूलकी एक नाबालिगलाई १७ वर्षको उमेरदेखि शारीरिक तथा मानसिक यातना दिँदै आएको आरोप लगाइएको छ । शुरूमा राष्ट्रिय महिला आयोगमा पुगेकी पीडित पछि केही महिला अधिकारकर्मीको साथमा प्रहरीमा पुगेकी हुन् ।

उनले गत माघ १० गते जिल्ला प्रहरी परिसर, भद्रकालीस्थित महिला तथा बालबालिका सेवा केन्द्रमा जाहेरी दिएकी थिइन् । उक्त जाहेरीलाई फागुन ३ गते प्रहरी कार्यालयको दर्ता किताबमा अभिलेखित गरेको थियो । सोही आधारमा जिल्ला अदालत, काठमाडौंबाट पक्राउ आदेश माग गरिएको पीडितको पक्षमा काम गरिरहेकी एक सहयोगीले बताएकी छिन् ।

उनका अनुसार पक्राउ पुर्जी जारी भएको चार दिन भइसक्यो । तर, अहिराज प्रहरी सम्पर्कमा आएका छैनन् । अहिराज २०७७ फागुन ७ मा ओलीले मधेश प्रदेश प्रमुख नियुक्त गरेका थिए ।