माओवादीले नेतृत्व गरेका पालिका टाढैबाट चिनिने बनाउन लाग्नुस : प्रचण्ड
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अब माओवादी केन्द्रले नेतृत्व गरेका सबै पालिका नमुना बन्नुपर्ने र टाढैबाट फरक छन् भनेर चिनिने बनाउनुपर्ने बताए।
माओवादी केन्द्र केन्द्रीय कार्यालयले आयोजना गरेको स्थानीय तहबाट समाजवादको पूर्वाधार निर्माणसम्बन्धी अभिमुखीकरणको उद्घाटन गर्दै पार्टी अब आफ्नै वर्गमा फर्केर स्थानीय तहबाट समाजवादको अभ्यास गर्ने अभियानमा अघि बढेको बताएका छन्।
स्थानीय तहबाट समाजवादी अर्थतन्त्र, संस्कृति र शैलीको थालनी गर्न अब पुरानैको निरन्तरता होइन, नयाँको थालनी गर्ने बेला आएको उल्लेख गर्दै उनले यो रणनैतिक सिफ्ट भएको बताए। समाजवादको सैद्धान्तिक बहसलाई व्यवहारिक रुपमा स्थानीय तहबाट निर्माण गर्दै लैजाने पार्टीले निर्णय गरेको बताए।
एकातिर स्थानीय तहबाट समाजवादको अभ्यास गर्ने र अर्कोतिर विभिन्न अभियानमार्फत जनतालाई अपिल गर्ने पार्टी निर्णय कार्यान्वयन सुरु भएको उल्लेख गर्दै उनले यसको मर्मलाई आत्मसात गरेर अघि बढ्न आग्रह गरे।
पार्टीले आठौं महाधिवेशनबाट अघि सारेको नेपाली विशेषताको समाजवाद निर्माण गर्ने मर्ममा साथ माओवादी केन्द्रले नेतृत्व गरेका कयौं स्थानीय पालिकाले उत्कृष्ट नतिजा दिदै आएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले स्थानीय विशेषताअनुसारको समाजवादको अभ्यासका लागि अब जनताले फरक महसुस गर्ने कार्यक्रम अघि बढाउनुपर्ने बताए।
समुदायसित मिलेर स्थानीय विशेषतासहितको समाजवाद निर्माण गर्नुपर्नेमा सबै नेता कार्यकर्ताको समान बुझाइ हुनुपर्ने उल्लेख गर्दै उनले पार्टीले समाजवादतर्फको यात्रा सुरु गरेन भनेर कुनै न कुनै रुपले देश दुर्घटनामा जाने बताए।
१८ महिनाको सरकारको अनुभव र सरकारबाट बाहिरिदै गर्दा जनतामा गरिएको अपिलले जनतामा सकारात्मक प्रभाव पर्दै गएको र माओवादीप्रति पुनः आकर्षण फर्कन थालेको बताए।
पछिल्लो केही समय आवश्यकता भन्दा बढी सहकार्य र समीकरण गर्दै जाँदा आफ्नो वर्ग र समुदायसितको सम्बन्ध कमजोर भएको गम्भीर आत्मसमीक्षा गरेर आफ्नै वर्गमा फर्कनुपर्छ र पार्टीलाई पुरानै अवस्थामा फर्काउन सकिन्छ भन्ने निष्कर्षमा पुगेर नयाँ अभियान थालिएको जानकारी दिए।
कार्यक्रममा जनप्रतिनिधिहरूले पारदर्शिता, सुशासन, जनता लक्षित कार्यक्रममा जोड दिएर काम गरिरहेको रिपोर्टिङ गरेका थिए । राज्यको स्रोत र साधनमा एउटै वर्गको हालीमुहाली वा पहुँच राख्ने प्रवृत्तिलाई अन्त्य गर्दै आम जनतामा राज्यका सेवासुविधा विस्तार गरी माओवादीले जितेका पालिकामा नमुनाको रुपमा विकास गर्नुपर्छ भन्ने अवधारणाका आधारमा आफूहरुले काम गरिराखेको उनीहरुले जिकिर गरेका थिए ।
कार्यक्रममा माओवादीले जितेका १२३ पालिका प्रमुख÷अध्यक्ष, १३४ उपप्रमुख÷उपाध्यक्ष, पालिका पार्टी अध्यक्ष, प्रदेश इन्चार्ज र अध्यक्षहरू तथा विज्ञहरु सहभागी भएका थिए । आइतबार विज्ञसहित अन्तक्र्रिया कार्यक्रम गरेर समापन हुनेछ ।
प्रतिक्रिया दिनुहोस्: