ओलीको प्रशंसा गर्दै राधिका शाक्यले भनिन्– प्रधानमन्त्रीलाई अल्छी भन्नेहरू गलत हुन्

काठमाडौं । राधिका शाक्यले आफ्ना श्रीमान् प्रधानमन्त्री केपी शर्मा ओलीको प्रशंसा गर्दै मिहिनेती र कर्मठ व्यक्ति भएको बताएकी छिन् । शाक्यले लेखेको आत्मकथा ‘करुणा’ लोकार्पण गर्न शनिबार आयोजित कार्यक्रममा कतिपयले ओलीलाई अल्छी भन्ने गरेको उल्लेख गर्दै त्यसमा कुनै सत्यता नभएको बताइन् ।
‘‘उहाँलाई मन नपराउनेहरूले भन्छन्— उहाँ एक अल्छी व्यक्ति हो, एउटा सिन्को पनि सार्दैनन्। मैले पनि यस्ता कुरा सुनेकी छु । तर, म भन्न चाहन्छु उहाँ धेरै काम गर्ने व्यक्ति हो । हिजो बिहानदेखि आज बिहान ४ बजेसम्म उहाँ निरन्तर काममा व्यस्त हुनुहुन्थ्यो । अब उहाँलाई सक्रिय भन्ने कि निष्क्रिय ? मेरो विचारमा उहाँजस्तो सक्रिय व्यक्ति सायदै विश्वमै होला,’ शाक्यले भनिन्।
प्रधानमन्त्री ओलीको प्रमुख आतिथ्यमा लेखक शाक्य, नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवाली, साहित्यकार अमर न्यौपाने र बौद्ध भिक्षुणी एवं गायिका आनी छोइङ डोल्माले उक्त पुस्तक लोर्कापण गरे ।
प्रधानमन्त्री ओली र धर्मपत्नी शाक्यको ३७औँ वैवाहिक वर्षगाँठका अवसरमा शनिबार प्रर्दशनीमार्गस्थित राष्ट्रियसभागृहको हलमा उक्त पुस्तक लोर्कापण गरिएको हो । पाणिनी बुक्स प्रालिद्वारा प्रकाशित उक्त पुस्तकको लोर्कापण समारोहमा मन्त्रीहरूलगायत उच्च पदस्थ व्यक्तित्वहरुको सहभागिता रहेको थियो ।
लेखक शाक्यले आत्मकथामा आफ्नो दृष्टि, भोगाई र अनुभूतिसँगै प्रधानमन्त्री ओलीको सङ्घर्ष, कठिनाई, सफलता र समाजसेवाका विषय समेटिएको बताइन् । पुस्तकमा शाक्यको बाल्यकाल, पढाइ, जागिर र जीवनका विविध उकालीओराली तथा नेकपा एमालेका तत्कालीन नेता ओलीसँग विवाह सम्बन्धमा बाँधिएपछिका अनेक यात्राहरुबारे उल्लेख छ ।
‘न म साहित्यकार, न लेखिका हुँ । त्यही पनि मनमा लागेका आफ्ना बिचारहरु कहिलेकाही लेख्ने गर्थेँ । त्यही सङ्ग्रलाई आज पुस्तकका रुपमा ल्याएको छु’, शाक्यले भनिन्, ‘म बाल्यकालदेखि नै गरिब, दुःखी, रोगी असहायलाई देखेपछि चिन्तित हुन्थेँ । मैले प्रधानमन्त्री ओली, तत्कालीन समयको केपीसँगको विवाह पनि त्यहि करुणाले गरेँ ।’
प्रधानमन्त्री ओली र धर्मपत्नी शाक्यबीच २०४४ साल आजकै दिन विवाह भएको थियो ।
प्रतिक्रिया दिनुहोस्: