जनयुद्ध हिंसा थिएन, हिंसा तत्कालीन राज्य व्यवस्थाले गरेको थियो : शर्मा
काठमाडौं। नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले जनयुद्ध जनताले लडेको युद्ध भएको बताएका छन् । जनयुद्धका क्रममा तत्कालीन राज्य व्यवस्थाले चाहिँ हिंसा गरेको उनको भनाइ छ ।
३० औँ जनयुद्ध दिवसको अवसरमा रूकुम पश्चिमको सानीभेरीमा आयोजित कार्यक्रम विशेष कार्यक्रमलाई सम्बोधन गर्दै शर्माले जनयुद्धका क्रममा नेपाली जनताको त्याग र बलिदानबाट निरंकुश राजतन्त्र अन्त्य गर्न सकिएको बताए । उनले त्यसक्रममा सहादत प्राप्त गर्ने सहिदहरुप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै बेपत्ता र घाइतेप्रति सम्मान व्यक्त गरे । उनले जनयुद्धमा सहभागी योद्धा जनताप्रति आभार समेत प्रकट गरे ।
उनले सर्वोच्च अदालतले जनयुद्ध शब्दप्रति प्रतिबन्ध लगाइएको प्रति असन्तुष्टि जनाए । उनले भने, ‘शान्तिपूर्ण तरिकाबाट हामीले प्रयत्न गरेका थियौँ । हाम्रो माग अघि सार्दा दमन गरियो । त्यो दमनको प्रतिरोध जनयुद्धमार्फत हामीले गरेका थियौँ । हिंसा जनयुद्ध थिएन। हिंसा तत्कालीन राज्य व्यवस्थाले गरेको हो ।’
उनले जनताले हिंसाका विरुद्ध जनताले आवाज बुलन्द बनाएको भन्दै जनता आवाज कहिल्यै प्रतिबन्ध हुन नसक्ने बताए । उनले अगाडि भने, ‘आज जनयुद्ध शब्दलाई प्रतिबन्ध लगाएको भनेर सन्तोष मान्नेहरूले बुझेहुन्छ जनताको आवाज बुलन्द भइरहन्छ ।’
उनले जनयुद्धको भावनाअनुसार देशलाई अघि बढाउन सक्षम नेतृत्व चाहिने पनि बताए । यस्तै उनले भ्रष्टाचार निर्मूल गर्न जरुरी रहेको भन्दै नेताहरुको सम्पत्ति छानबिन गरेर अघि बढ्नुपर्ने आफूले प्रस्ताव गरेको समेत बताए ।
उनले माओवादी पार्टी भ्रष्टाचारका विरुद्धमा उभिएको समेत बताए । उनले पार्टीलाई नयाँ ढंगबाट उठाउन आफूले आवाज उठाउँदै आएको र केन्द्रीय समितिबाट यसको थालनी भएको समेत बताए । कार्यक्रममा नेता सुदन किरातीले जनयुद्धको बलमा जनताले परिवर्तनको महसुस गर्न पाएको भन्दै जनयुद्ध शब्द प्रतिबन्ध हुन नसक्ने बताए ।
प्रतिक्रिया दिनुहोस्: