Bagmati Samachar Logo

दिनेश त्रिपाठीमाथि हमला गर्ने रास्वपाका जिल्ला उपसभापतिसहित तीन जनाविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता

काठमाडौं । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि हातपात गर्ने तीन जनाविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता भएको छ । २१ दिनको अनुसन्धानपछि आज बुधबार जिल्ला अदालत काठमाडौँमा मुद्दा दर्ता भएको हो।

राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ता तथा रवि लामिछानेका समर्थकले माघ २ गते जिल्ला अदालतको गेट बाहिर त्रिपाठीमाथि हातपात गरेका थिए। हातपातको आरोपमा पक्राउ परेका दोलखाको तामाकोसी गाउँपालिका १ घर भई हाल ललितपुरको महालक्ष्मी नगरपालिका ५ टिकाथली बस्ने ४८ वर्षीय ललितकुमार केसी, हुम्लाको अदानचुली गाउँपालिका ४ घर भई हाल काठमाडौँको टोखा बस्ने ३२ वर्षका महानन्द जैसी र झापाको बुद्धशान्ती गाउँपालिका ४ घर भई शान्तिनगर बस्ने ५५ वर्षकी शीतल राई भन्ने सितादेवी राईविरुद्ध मुद्दा दर्ता भएको हो।

महानन्द जैसी राष्ट्रिय स्वतन्त्र पार्टीको हुम्ला जिल्लाका उपसभापति हुन्। उनीहरुविरुद्ध १० वर्षसम्म कैद र एक लाख रुपैयाँसम्म जरिवानाको माग गरिएको छ। यस्तै पीडितलाई उचित क्षतिपूर्ति भराइदिनु पर्ने पनि अभियोग पत्रमा माग गरिएको छ।

स्वर्णलक्ष्मी सहकारी ठगीको अभियोगमा रवि अदालतमा थुनछेकका लागि हाजिर भएपछि त्रिपाठीले सहकारी पीडितको तर्फबाट बहस गरेका थिए। बहस सकेर निस्कने क्रममा उनीमाथि हातपात भएको थियो।

आफ्नो ज्यानै लिनेगरी आक्रमण भएको भन्दै त्रिपाठीले प्रहरीमा जाहेरी दिएका थिए। प्रहरीले घटनाको सीसीटीभी फुटेजका आधारमा संलग्नको पहिचान गरी पक्राउ गरेको थियो।