Bagmati Samachar Logo

क्यानले नविकरण गरेन क्रिकेट प्रशिक्षक मोन्टी देसाईसँगको सम्झौता, नयाँ प्रशिक्षकको खोजी

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले प्रमुख प्रशिक्षक मोन्टी देसाईसँगको सम्झौता नवीकरण नगर्ने भएको छ । क्यान र देसाईबीचको आपसी सहमतिमा सम्झौता नवीकरण नगरिएको क्यानका प्रवक्ता छुम्बी लामाले जानकारी दिए । उनले भने, ‘उहाँ (देसाई) सँगको दुई वर्षको सम्झौता सकिएको छ । अब नवीकरण नगर्ने भएका छौँ ।’

भारतीय क्रिकेटर देसाईलाई क्यानले २०७९ को माघ २३ मा प्रमुख प्रशिक्षक नियुक्त गरेको थियो ।

उनी प्रमुख प्रशिक्षक भएर आउँदा नेपाली टिम आईसीसी विश्वकप लिग २ मा खराब अवस्थाबाट गुज्रिरहेको थियो । देसाईकै प्रशिक्षणमा नेपालले सो लिगका पछिल्ला १२ मध्ये ११ खेलमा जित निकाल्दै विश्वकप ग्लोबल छनोटमा मात्र पुर्‍याएको थिएन, एक दिवसीय मान्यता पनि जोगाएको थियो ।

देसाईले नेपाली क्रिकेटमा पुर्‍याएको योगदानको स्मरण गर्दै क्यानले शनिबार उनको प्रशंसा गरेको छ । क्यानले आफ्नो आधिकारिक फेसबुक पेजमा मोन्टीले ल्याएको ह्याप्पी ड्रेसिङ र नेपाली क्रिकेटले प्राप्त गरेको सफलताका लागि उनलाई धन्यावाद दिएको छ ।

देसाईले पछिल्लोपटक ब्याटिङ क्लिनिकमा आफ्नो सेवा दिएका थिए । यही माघको दोस्रो साता मूलपानी क्रिकेट मैदानमा युवा क्रिकेटरका लागि क्यानले ब्याटिङ क्लिनिक आयोजना गरेको थियो । र त्यसमा देसाईले युवा क्रिकेटरलाई प्रशिक्षण दिएका थिए ।

देसाईको पालामा नेपालले क्रिकेटमा पाएको सबैभन्दा ठूलो उपलब्धि टी २० विश्वकपमा छनोट र एसिया कपमा छनोट हो । उनै प्रशिक्षणमा नेपालले भारत र पाकिस्तानसँग पहिलोपटक ओडीआई खेलेको थियो । एसिया कपमा नेपालले त्यो अवसर पाएको थियो । त्यसयता नेपालले टेस्ट राष्ट्रसँग ओडीआई खेल्न पाएको छैन । यस्तै अमेरिका र वेस्टइन्डिजमा भएको टी २० विश्वकपमा नेपालले दक्षिण अफ्रिका, बंगलादेश जस्ता टिमहरूसँग खेलेको थियो । विश्वकपमा नेपाली खेलाडीले गरेको प्रदर्शन र दर्शकको समर्थनको चर्चा विश्वभर भएको थियो ।

देसाईको विदाइसँगै क्यानले नयाँ प्रशिक्षकको खोजी प्रक्रिया सुरु गर्ने जनाएको छ ।