सदर र बदर मतको बखेडाले अखिल क्रान्तिकारीमा तीन दिनदेखि बाल्मीकीमा मतगणना हुन सकेन
काठमाडौँ । अनेरास्ववियु (क्रान्तिकारी) को अध्यक्षका उम्मेदवार विजयप्रकाश शर्मा सापकोटा,हेमन्त राई,सुदीन पौडेल र उपदेश यादव पक्ष सहमतिमा नआउँदा मतदान भएको तीन दिन पुरा हुँदा समेत अन्तिम मत गणना सुरु भएको छैन ।
उपत्यका विशेष प्रदेश र विश्वविद्यालयको मत गणना हुनु भन्दा पहिला सदर र बदर मत कसलाई मान्ने भन्ने विषयमा विवाद भएको हो । मत दान गर्दा रातो मसी प्रयोग गरेकाले रातो मसीलाईमात्र आधिकारीक मानेर जानु पर्ने तीन अध्यक्षका दाबेदारको मत छ भने कालो मसीले पनि मत हालेकाले कालो मसीलाई पनि सदर मानेर जानु पर्ने विजय सापकोटा पक्षको मत छ । यसैमा कुरा नमिल्दा तीन दिनदेखि मत गणना हुन सकेको छैन ।
३३ पदाधिकारी, ४८ सचिवालय सदस्य, १६२ केन्द्रीय सदस्य र तीन निकायका पदाधिकारीका लागि शनिवार निर्वाचन भएको थियो । तर सबैभन्दा बढी मतदाता रहेको उपत्यका विशेष र विश्वविद्यालय प्रदेशको मतगणना पटक पटक विवादका कारण रोकिँदै आएको छ ।
सर्वपक्षीय सहमतिको आधारमा सोमबार मध्यान्ह १२ बजेबाट मतगणना थाल्ने भनिए पनि मतपेटिका पेरिसडाँडा लाने विषयले फेरि विवाद भएको थियो । तर आफ्नो अधिकार प्रयोग गरी निर्णय लिने जिम्मेवारी पाएको निर्वाचन समिति अनिर्णीत भएको छ । यद्यपि सहमतिमै मतगणना अगाडि बढाउन पहल भइरहेको निर्वाचन प्रमुख मुक्ति प्रधानले बताए ।
‘सहमतिमै मतगणना अगाडि बढाउन पहल भइरहेको छ । अन्य प्रदेशको नतिजा आइसक्यो । यही दुई प्रदेशमा विवाद हुँदा समस्या भइरहेको छ । लामो समय क्याम्पसमा मतपेटिका राख्न विद्यार्थीलाई पनि समस्या छ । सुरक्षाकर्मीलाई पनि समस्या भइरहेको छ । यी सबैलाई ध्यानमा राखेर भोलिसम्म सहमतिमै अन्तिम नतिजा सार्वजनिक गर्नेगरी पहल भइरहेको छ’, उनले भने ।
यता फ्रयाक्सन इन्चार्ज हिमाल शर्माले अनावश्यक विवादमा फस्दा नतिजा सार्वजनिकमा समस्या उत्पन्न भएको बताए । ‘दुवै पक्ष आ–आफ्ना अडानमा छन् । यो अन्य सङ्गठन वा पार्टीबिचको प्रतिस्पर्धा होइन । जित हार जसको भए पनि क्रान्तिकारीकै हो । दुवै पक्षलाई सहमति गराएर मतगणना अगाडि बढाउने पहल भइरहेको छ’, शर्माले भने ।
देशभर २३९८ मतदाता रहेकोमा १९१५ मत खसेको थियो । तीमध्ये यी दुई प्रदेशमा ५२२ मत गन्न बाँकी छ । अहिलेसम्म सापकोटाले २० मतले अग्रता लिएका छन् । उनले ४८१ मत पाउँदा अर्का प्रतिस्पर्धी राईले ४६१ मत पाएका छन् । बौद्धिक सङ्गठन भनेर चिनिने विद्यार्थी सङ्गठनभित्र देखिएको अस्वस्थ प्रतिस्पर्धामा न्यूनतम प्रजातान्त्रिक संस्कार समेत नदेखिँदा नेतृत्व क्षमतामाथि प्रश्न उठ्न थालेको छ ।
प्रतिक्रिया दिनुहोस्: