Bagmati Samachar Logo

अखिल क्रान्तिकारीमा फेरि लफडा, विश्वविद्यालय र विशेष प्रदेशको मतगणना अनिश्चितकालका लागि स्थगित

काठमाडौं । अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलनअन्तर्गत उपत्यका विशेष र विश्वविद्यालय प्रदेशको मतगणना अनिश्चितकालका लागि स्थगित भएको छ । खासगरी विश्वविद्यालय विशेष र उपत्यका विशेष प्रदेशको मतगणना सुरु हुनुअघि विवाद भएको हो ।

मतगणनामा सदर र बदर मत केलाई मान्ने भन्ने विषयमा सहमति जुट्न नसकेपछि मतगणना प्रभावित भएको हो । शनिबार बेलुकादेखि नै सहमतिको प्रयास भए पनि जुट्न सकेन ।

मतदान केन्द्रमा भोट हाल्नका लागि रातो मसीको मार्कर राखिएको थियो । तर, निर्वाचन समितिले मतदानमा कालो मसी पनि प्रयोग भएको बताएपछि उम्मेदवारका प्रतिनिधिविच कसलाई सदर मत मान्ने भन्नेमा विवाद भएको हो । विवाद भएपछि मत गणना स्थगित भएको हो ।

आइतबार प्रेस विज्ञप्ति जारी गरेर मतगणना अनिश्चित समयको लागि स्थगित भएको जानकारी दिइएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘मिति २०८१ माघ १२ गते शनिबारका दिन सम्पन्न भएको उपत्यका विशेष प्रदेश र विश्वविद्यालय प्रदेशका मतदान केन्द्रको निर्वाचनको मतगणना विशेष कारणवश स्थगित भई आज मिति २०८१ माघ १३ गते ११ः०० बजेदेखि सुरु गर्ने भनिएकोमा अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको व्यहोरा सूचित गरिन्छ ।’