Bagmati Samachar Logo

सुप्रिम सहकारी ठगी मुद्दा : रूपन्देही अदालतमा रवि लामिछानेको थुनछेक बहस आजदेखि

क‍ाठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बुटवलको सुप्रिम सहकारीको बचत ठगी मुद्दामा थुनछेक बहस आजदेखि सुरू हुनेछ।

जिल्ला अदालत रूपन्देहीमा न्यायाधीश प्रह्लादकुमार योगीको इजलासमा लामिछानेलाई थुनामा पठाउने कि बाहिरै रहेर मुद्दाको पुर्पक्ष गर्ने दिने भन्ने विषयमा वकिलहरूले बहस गर्नेछन्।

सुरूमा सरकारी वकिलहरूले बहस गर्नेछन्। त्यसपछि जाहेरवाला सहकारी पीडित पक्षका वकिलले बहस गरेपछि प्रतिवादी पक्षका वकिलहरूको पालो आउँछ।

थुनछेक बहसमा १२ जनाभन्दा बढी सरकारी वकिलहरूले बहस गर्ने तयारी छ।

पीडितको तर्फबाट वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र सुरेन्द्र भण्डारीले बहस गर्ने छन्। त्रिपाठी र भण्डारी पनि रूपन्देही पुगिसकेका छन्।

रवि लामिछानेको पक्षबाट वरिष्ठ अधिवक्ता नारायणदत्त कँडेलले बहस गर्नेछन्। उनी बुधबार नै भैरहवा आइपुगेका छन् भने नारायण घिमिरे, सुशिल पन्तसहितका कानून व्यवसायीले पनि बहस गर्नेछन्।

रूपन्देहीबाट बुटवल बारका अध्यक्ष गोविन्द मरासिनीले पनि लामिछानेको पक्षमा बहस गर्ने बताइएको छ।

सुप्रिम सहकारीको बचत अपचलन मुद्दाका लागि लामिछाने बुधबार अदालतमा उपस्थित भएका थिए।

न्यायाधीश योगीले दिउँसो २ बजेदेखि लामिछानेसँग बयान लिएका थिए। बयान सकिएपछि लामिछानेलाई बिहीबार बिहान १० बजे हाजिर हुनेगरी श्रीमती र वकिलको जिम्मा लगाएर पठाइएको थियो।

लामिछाने र गोर्खा मिडिया नेटवर्कका उपाध्यक्ष एवं पूर्वडिआइजी छविलाल बन्जाडे जोशीसहित १४ जना र यसअघि गते वैशाख ३ गते २८ जनामध्ये ८ जना गरी २२ जनालाई आइतबार सहकारी ठगी र संगठित अपराध कसुरमा मुद्दा दर्ता भएको थियो।

यसअघि कास्की र काठमाडौं अदालतमा भएको थुनछेक बहसमा लामिछानेलाई धरौटीमा छाडिएको थियो।

कास्की अदालतले लामिछानेलाई ६५ लाख र काठमाडौं अदालतले ६० लाख धरौटीमा छाडेको थियो।