प्रचण्डले जसलाई भेटे उसैलाई उक्साए पछि ७ जना अध्यक्षका उम्मेदवार
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अखिल क्रान्तिकारीका पदाधिकारीका अधिकांस आकांक्षीलाई भेटेर चाहेको पदमा उम्मेदवारी दिन भनेका छन् । मंगलबार क्रान्तिकारीको नेतृत्व चयन लागि उम्मेदवारी दर्ता भएको छ । उम्मेदवारी दर्ता हुनुअघि उम्मेदवारका आकांक्षीलाई खुमलटार बोलाएर प्रचण्डले अन्तर्वार्ता नै लिएका छन् ।
अन्तर्वार्ता दिएका अधिकांस नेताहरूलाई प्रचण्डले तत्काल उम्मेदवारी दिन सल्लाह दिएको एक पदाधिकारीका उम्मेदवारले बताए । ती उम्मेदवारले भने, ‘मैले आफूले उम्मेदवारी दिन चाहेको पद अध्यक्षलाई भनेँ, उहाँले पनि हुन्छ उम्मेदवारी दिनू, मिलाउनू परेपछि मिलाउँला भन्नुभयो । मैले उम्मेदवारी दिइसकेँ ।’
मंगलरबा ९ बजे रातीसम्म ७ जनाले अध्यक्षमा उम्मेदवारी दर्ता गराएका छन् । जसमा हेमन्त राई, विजयप्रकाश शर्मा सापकोटा,योगेन्द्र बुढा, सुदिन पौडेल,उपदेश यादव,गजेन्द्र यादव विश्राम शर्माले उम्मेदवारी दर्ता गरेका छन् ।
आकांक्षी बढी हुँदा आआफ्नै तरिकाले उम्मेदावर
माओवादी केन्द्रका पदाधिकारीहरूकै विद्यार्थीमा गुट भएकाले सर्वसम्मतको प्रयास सफल हुन सकेन । सर्वसम्मतको प्रयास असफल भएपछि विद्यार्थीहरू उम्मेदवारी दर्ता गर्न थालेका छन् ।
सबैभन्दा बढी आकांक्षी नै अध्यक्ष प्रचण्डनिकट मानिएका विद्यार्थीहरू भएकाले टिम बन्न नसकेको एक पदाधिकारीमा उम्मेदवारी दर्ता गरेको विद्यार्थीले बताए । ती विद्यार्थीले भने, ‘अन्तिम समयमा सबै प्रचण्डमा केन्द्रित भए । जसका कारण टिम मिलाउन अप्ठेरो भयो । एकले अर्कालाई नस्वीकारेपछि आआफ्नै तरिकाले उम्मेदवारी दिन थालेका छौँ । अध्यक्षमा गण्डकीकाबाट नै दुई जना प्रचण्डनिकट हौँ भन्न थाले । कुरा मिलेन । दुवैले अध्यक्षमा उम्मेदवारी दिने तयारी गरेका छन् ।’
काका समूह भर्सेस जसको नीति उसैको नेतृत्व
सर्वसम्मतको प्रयास असफल भएपछि प्रचण्डनिकट भनिएकाहरूबीच पनि सहमति हुन सकेन । यसको प्रमुख कारण काका समूह भर्सेस जसको निति उसैको नेतृत्व भन्ने नारा सुरु भएको छ । उमेरहद लागेर बाहिरिएका विद्यार्थी नेताहरूलाई काका समूहु भन्ने गरिएको छ ।
उमेरहदका कारण विदा भएका नेताहरूले आफूसबै हेडक्वाटर केन्द्रित भएको भन्दै विजय सापकोटालाई अध्यक्षमा अगाडि सारेका छन् ।
सापकोटा उमेरहदको विपक्षमा उभिएकाले उमेरहद लागेर बाहिरिएकाहरूले अध्यक्षमा अगाडि सारेको आरोप उमेरहदपक्षका विद्यार्थी नेताहरूको छ ।
उमेरहदको पक्षमा लागेका हेमन्त राई, सुदीन पौडेल र उपदेश यादवले उम्मेदवारी दर्ता गरेका छन् । यी नेताहरू अहिले हामीले नै उमेरहदको पक्षमा लागेकाले हामीबीच नै उम्मेदवारी दिने भन्दै काका समूहका विरुद्ध मैदानमा उत्रेका छन् । उनीहरू अहिले जसको नीति उसकै नेतृत्व भन्न थालेका छन् । यसमा राई, पौडेल, यादव, विराज थापा लगायतका नेताहरू छन् ।
थापाले उपाध्यक्षमा उम्मेदवारी दर्ता गरेका छन् । अमिर खरेलले पनि उपाध्यक्षमा उम्मेदवारी दर्ता गरेका छन् । पार्वती नेगी र ममता अधिकारीले पनि उपाध्यक्षमा उम्मेदवारी दर्ता गरेका छन् । । महासचिवमा प्रतिक कार्कीले उम्मेदवारी दर्ता गरेका छन् ।
राईले साइडको सर्भर डाउन भएकाले उम्मेदवारी दर्ता गर्न ढिला भएको बताए । उनले भने, ‘अध्यक्षमा उम्मेदवारी दिएको छु । सर्भर डाउन हुँदा ढिला भएको छ ।’ अनेरास्ववियु क्रान्तिकारीको उम्मेदवारी मनोनयन दर्ता गर्न तीन घण्टा समय थप भएको छ ।
सर्भरमा समस्या आएपछि अहिले उम्मेदवारी दर्ता हुन सकेको छैन । सर्भर डाउन हुँदा उम्मेदवारी दर्ता अवधि बेलुका ९ बजेसम्म थप गरिएको निर्वाचन समितिले बताएको छ । यसअघि उम्मेदवारी दर्ता गर्ने समय बिहान ८ देखि साँझ ६ बजेसम्म तोकिएको थियो ।
प्रतिक्रिया दिनुहोस्: