एमालेमै फर्किने तयारीमा वामदेव गौतम
काठमाडौँ । नेता वामदेव गौतम नेकपा एमाले फर्किने भएका छन् । नेकपा एकीकृत समाजवादीमा जाने भन्दै आएका गौतम फेरी एमालेमा जाने भन्न थालेका छन् ।
नेकपा एकता अभियानका महासचिव डीवी कार्कीले सिंगो अभियान एमालेमा समाहित हुने जानकारी दिए ।
उनले भने, ‘कुराकानी पहिला पनि भइरहेको थियो । आज दुई अध्यक्ष (केपी ओली र वामदेव गौतम)बिच टेलिफोन सम्पर्कमार्फत कुराकानी गरेर एमालेसँग एकीकरण गर्ने कुराको टुंगो लाग्यो । एकदुई दिनभित्रै औपचारिक रूपमा एकता हुन्छ ।’
गौतम निकट कार्कीले दुई नेताबिचको कुराकानीमा एमालेको नीति सिद्धान्त र विचार मानेर अघि बढ्ने सहमति भएको बताए । गौतमले एमालेमा वरिष्ठ नेता वा संरक्षकमध्ये एक पद पाउने पनि कार्कीको भनाइ छ ।
‘वरिष्ठ नेता वा संरक्षकमध्ये एकमा उहाँको व्यवस्थापन गर्न अध्यक्ष ओली सहमत हुनु भएको छ’, कार्कीले भने, ‘अभियानका अरू नेता कार्यकर्ताको पछि सल्लाह गरेर व्यवस्थापन गरिने छ ।’
यसैबिच गौतम नेतृत्वको अभियानका केही नेताहरू अलग्गिएको घोषणा गरेका छन् । आइतबार उपाध्यक्ष महेन्द्र अर्यालसहितले गौतम समूहबाट अल्गिएको घोषणा गरेका हुन् । उनीहरुले रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर यस्तो घोषणा गरेका हुन् ।
अर्याल एकता अभियानका लुम्बिनी प्रदेश इन्चार्ज हुन् । अर्यालसँगै कर्णाली प्रदेश इन्चार्ज डिल्लीराज भट्टराई, कोशी प्रदेश इन्चार्ज इन्द्र सुब्बा र मधेस प्रदेश इन्चार्ज हरि काफ्लेले पनि गौतमलाई छाडेको घोषणा गरेका छन् । आजै गौतम छोडेका नेताहरु भने माओवादी केन्द्रमा प्रवेश गर्ने भएका छन् ।
प्रतिक्रिया दिनुहोस्: