क्रान्तिकारीको नेतृत्वमा प्रचण्ड, जनार्दन र नारायणकाजीका आ–आफ्नै गुट

काठमाडौं । नेकपा माओवादी केन्द्रको भ्रातृ संगठन अखिल क्रान्तिकारीमा नेतृत्वको लागि तीन पक्षीय भिड्न्त हुने भएको छ । अध्यक्ष प्रचण्ड, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र उपमहासचिव जनार्दन शर्मा पक्षबीच भिड्न्त हुने भएको छ । १२ माघमा हुने भनिएको नेतृत्व चयनको निर्वाचनका लागि ८ माघमा उम्मेदवारी दर्ता हुने तालिका छ । १० असोजमा सुरु भएको क्रान्तिकारीको २३औँ सम्मेलनले अहिलेसम्म नेतृत्व चयन गर्न सकेको छैन ।
भ्रातृ संगठनको नेतृत्वमा आफ्नो गुटको वर्चस्व कायम गर्न नेताहरू पनि आन्तरिक तयारीमा छन् । पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, महासचिव देव गुरुङ र उपमहासचिव वर्षमान पुन एक ठाउँमा उभिँदा अर्का उपमहासचिव जनार्दन शर्मा भने अर्कोतर्फ उभिएका छन् । वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठको समूह पनि नेतृत्वका लागि तयारीमा छ ।
अहिले काठमाडौंमा नेताहरूले आफ्नो समूहका पूर्वविद्यार्थी नेताहरूलाई टिम मिलाउने जिम्मेवारी दिएका छन्, जसअनुसार पूर्वविद्यार्थी नेताहरू आआफ्नो टिम मिलाउन र कसलाई कुन पदमा उम्मेदवारी दिन लगाउने भन्ने तयारीमा जुटेको एक विद्यार्थी नेताले बताए । उनले भने, ‘आन्तरिक रूपमा तीन समूह देखिएका छन्, जसमा अध्यक्ष प्रचण्डलगायत उपमहासचिव जनार्दन र नारायणकाजी कमरेडको टिम प्रतिस्पर्धा गर्ने तयारीका साथ लागेका छन्, जसमा अध्यक्ष, महासचिव र कोषाध्यक्षसम्म तयारी गरिसकेका छन् । अन्य पदाधिकारीमा सेट बनाउँदै छन् ।’
प्रचण्ड, गुरुङ र पुनका उम्मेदवारमा सुदिन पौडेल, विजय शर्मा सापकोटा अध्यक्षका दाबेदार छन् । दुवै जना गण्डकी प्रदेशका हुन् । महासचिवमा देवकी कार्की उम्मेदवार हुनेछिन् । कोषाध्यक्षमा दीपा जैशीले तयारी गरेकी छिन् ।
शर्मा समूहबाट अध्यक्षमा हेमन्त राई, रोशन थापामगर अध्यक्षको दाबेदार छन् । त्यसमा एक जना अध्यक्ष र अर्को महासचिव हुनेछन् । कोषाध्यक्षमा खुसी फुलमाया रानामगर उम्मेदवारी दिने तयारीमा छिन् ।
श्रेष्ठ समूहबाट उपदेश यादव अध्यक्षका दाबेदार छन् । श्रेष्ठ समूहले पनि आन्तरिक रूपमा टिम बनाउँदै छ । अध्यक्षमा विराज थापाले पनि दाबी गरेका छन् । थापाले पनि टिम बनाएर प्रतिस्पर्धामा जाने तयारी गरेका छन् । समूह–समूहबीच प्रतिस्पर्धा हुँदा थापा समूहलाई मिलाएर लिँदा बलियो हुने हुँदा उनलाई महासचिवमा सेट गरेर जाने गरी पनि छलफल भइरहेको उनीनिकट एक विद्यार्थी नेता बताउँछन् ।
थापाजत्तिको प्रखर वक्ता नेता आफ्नो टिममा हुँदा नेतृत्वलाई पनि संगठन चलाउन सहज हुने हुँदा आफ्नो टिममा ल्याउन आन्तरिक रूपमा प्रचण्डपक्ष र शर्मापक्षले छलफल गरेको उनीनिकट नेता बताउँछन् ।
उपाध्यक्षमा ममता अधिकारी, पार्वती नेगीले उम्मेदवारी दिने तयारी गरेकी छिन् । उपमहासचिवमा निर्मला गौतम, वीरेन्द्र विष्टलगायत नेताहरू उम्मेदवारी दिने तयारीमा छन् । केही विद्यार्थी नेताहरू भने उम्मेदवारी दिने दिनमा मात्र खुल्ने बताउँछन् । असोजबाट सुरु भएको विद्यार्थी सम्मेलन माघमा सकिने भएको छ ।
अहिले पनि विद्यार्थीको नेतृत्व कुन पक्षकाले गर्छ भन्ने विषयमा पार्टीका पदाधिकारीबीच प्रतिस्पर्धा भएको छ । गुरुङ र पुनले अध्यक्षले नै समर्थन गरेको उम्मेदवार आफ्नो उम्मेदवार हुने घोषणा गरेको उनीनिकट विद्यार्थी नेता बताउँछन् । शिलापत्रसँग पुननिकट एक विद्यार्थी नेताले भने, ‘अध्यक्षले समर्थन गरेको नेता नै वर्षमान पुनले समर्थन गर्ने भन्नुभएको छ । महासचिव कमरेडले पनि आफ्नो समर्थन अध्यक्षले समर्थन गरेका अध्यक्षलाई गर्ने भनेका छन् ।’
शर्माले भने आफूनिटक विद्यार्थीहरूको प्यानल नै बनाएर निर्वाचनमा होमिने गरी तयारी गराइरहेको उनीनिटक एक नेता बताउँछन् । ती नेताले भने, ‘हाम्रोतर्फबाट प्यानल नै बन्छ । प्रतिस्पर्धा दुई पक्षबीच हुन्छ । सर्वसम्मत हुने सम्भावना देखिँदैन ।’
प्रचण्ड र शर्मापक्ष भिड्ने
अधयक्षसँग केन्द्रीय समिति बैठकबाट शर्माले मिलेर जान खोजेका छन् । तर, विद्यार्थीको नेतृत्व चयनमा फेरि अध्यक्ष र उपमहासचिव शर्माबीच कसको वर्चस्व हुने भन्ने लडाइँ हुने भएको छ ।
यदि विद्यार्थीमा अन्तिम समयमा सर्वसम्मत नेतृत्व चयन हुने अवस्था आएमा प्रचण्डले शर्मापक्षलाई पनि समेटेर लैजान सक्छन् । तर निर्वाचन हुने भएमा त्रिपक्षीय भिडन्त हुनेछ, जसमा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष र उपमहासचिवका टिम मैदानमा हुनेछन् ।
यदि अध्यक्ष प्रचण्डले वरिष्ठ उपाध्यक्ष श्रेष्ठको टिमलाई समेटर लिएमा शर्मापक्ष भने उम्मेदवारी दिने तयारीमा छ । ५ माघमा उम्मेदवारी दर्ता गर्ने भनिए पनि तयारी नपुगेको भन्दै ८ माघका लागि मिति सारिएको छ ।
८ माघमा उम्मेदवारी दर्ता हुने र १२ माघमा प्रदेश–प्रदेशमा मतदानद्वारा क्रान्तिकारीको नेतृत्व चयन हुने क्रान्तिकारीका इन्चार्ज हिमाल शर्मा बताउँछन् । उनले भने, ‘८ माघमा उम्मेदवारी दर्ता हुन्छ । १२ माघमा नेतृत्व चयनका लागि प्रदेश–प्रदेशमा मतदान हुन्छ । ३२ वर्षको उमेर भएका विद्यार्थी साथीहरू नेतृत्वमा आउनेछन् ।’ प्यानल तयारी गर्न पूर्वविद्यार्थीहरू अहिले सक्रिय रूपमा लागेका छन् ।
उमेरहद लागेपछि नेतृत्वका दाबेदार बिदा
१० असोजदेखि सुरु भएको राष्ट्रिय सम्मेलन विवादका कारण नेतृत्व चयन नगरेर स्थगित भएको थियो । माओवादीको पदाधिकारी बैठकबाट विद्यार्थीमा उमेरहद लागू गर्ने निर्णय गरेपछि जारी सम्मेलनमा नै विवाद भएको थियो ।
उमेरहद लगाउने र नलगाउनेबीच विवाद हुँदा स्थगित भएको सम्मेलन अहिलेसम्म टुङ्गिएको छैन । १३ पुसमा आएको उमेरहदको मतपरिणाम १४ पुसमा निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको थियो । मतपरिणाममा ३२ वर्षे उमेरहद लागू गर्नेको जित भएको थियो । त्यो मतपरिणामसँगै दोस्रो पुस्ताका विद्यार्थी नेताहरूमा नेतृत्व पुगेको छ ।
नेतृत्वका दाबेदार मदन भुल, दीपेश पुन, इन्द्र भुसाल, जीपी मैनाली, नरेश रेग्मी, नारायण खनाल, पवन कार्की बिदा भएका छन् ।
प्रतिक्रिया दिनुहोस्: