एमाले छोड्ने कैलालीका ४६ पूर्वमाओवादीले भने एमाले नेताहरुले नै बस्न दिएनन्
काठमाडौं । पार्टीभित्र रहँदापटक अपमानित हुनुपरेको भन्दै कैलालीको गोदावरी नगर कमिटीका ४६ जना सदस्यले नेकपा ९एमाले० परित्याग गरेको भन्दै सामूहिक राजीनामा दिएका छन् ।
नेकपापछि एमालेमे रहेका माओवादी धारका उनीहरूले आफूहरू पूर्वमाओवादी भनेर अपहेलित हुनुपरेको उल्लेख गरेका छन् । ‘ यहाँभित्र एमाले भएर बस्दा पनि हामीले पटक पटक अपमानित हुनुपर्ने, राजनीतिको रूपमा पूर्वमाओवादी भनेर अपहेलित हुनुपर्ने, मूल नेतृत्वकै विरुद्ध तलैसम्म गुटबन्दी गर्ने परम्पराभित्र अब बस्न सकिन्न भन्ने निष्कर्षमा हामी पुगेकै हो,’ सामूहिक राजीनामापत्रमा उल्लेख छ ।
साथै, उनीहरूले एमाले नेताहरूले जनयुद्धुका बारेमा लगातार प्रहार गरेको भन्दै त्यसमा पनि असहमति जनाएका छन् । उनीहरूको राजीनामा पत्रमा यही ११ पुसको मिति लेखिएको छ ।
१२ भदौ २०८१ मा बसेको प्रतिनिधिसभा बैठकमा एमाले सांसद योगेशकुमार भट्टराईले नेकपा माओवादी केन्द्रको १० वर्षे सशस्त्र द्वन्द्वलाई ‘सशस्त्र हिंसा’ भनेर टिप्पणी गरेका थिए । त्यसको विरोधमा माओवादी केन्द्रले लगातार संसदमा अवरोध पनि गर्यो । त्यो विषय नसेलाउँदै ९ असोजमा एमाले महासचिव शंकर पोखरेल कैलालीको धनगढी पुगे । पार्टीका केन्द्रीय सदस्यसँग आयोजना गरिएको समीक्षा कार्यक्रमका लागि पोखरेल धनगढी पुगेका थिए । धनगढीमा महासचिव पोखरेल आउँदा पत्रकार सम्मेलन पनि आयोजना गरियो ।
माओवादी द्वन्द्वकालमा उत्पन्न भएको हिंसाको आलोचना गर्दा हिंसा शब्द असंसदीय हो भनेर संसद रोक्ने काम भएको भन्दै पोखरेलले आपत्ति जनाए । ‘माओवादी द्वन्द्वकालमा हिंसा मात्रै भएन, यथार्थ रूपमा भन्नुहुन्छ भने त्यो समयमा आतंक सिर्जना गर्ने काम पनि भयो,’ पूर्वमाओवादी तथा एमाले सचिव लेखराज भट्टको छेउमै बसेका पोखरेलले भनेका थिए, ‘त्यो समयमा दिनदहाडै बसमाथि आगजनी गर्ने काम भएको थियो । राति सुतेकाहरूलाई आगो लगाएर हत्या गर्ने घटना भएको थियो । त्यो हिंसा मात्रै होइन, आतंक पनि हो ।’
उनले माओवादी द्वन्द्वका समयमा भएका हिंसा, आतंकलगायतका घटना स्वीकार्य छैनन् भन्ने कुरा माओवादीले नै स्वीकार गरिसकेको पनि बताएका थिए । ‘माओवादीसहितका पक्षले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग गठन गर्दा भएको सहमतिले नै त्यो कुरालाई प्रमाणित गर्छ,’ उनले भनेका थिए, ‘हिंसाको विरोध गर्नु अराजनीतिक र असंसदीय होइन । ती हिंसा भविष्यमा नदोहोर्याउन हामीले शान्ति प्रक्रिया अगाडि बढाएका हौँ ।’
पोखरेलका ती शब्द माओवादीबाट नेकपा हुँदै एमाले भएका कार्यकर्ताका कानसम्म पनि पुगे । एमाले गएका पूर्वमाओवादी रुपलाल विकले त महासचिवको भिडियो नै हेर्न पाए । विक एमालेमा कैलालीको गोदावरी नगर कमिटीका पूर्वसचिवालय सदस्य हुन् । ‘आफूहरू माओवादी केन्द्रबाट एमालेमा गएको र महासचिव शंकर पोखरेललगायत केही नेताहरूले ुजनयुद्धुको बारेमा लगातार प्रहार गर्न थालेका थिए,’ विक भन्छन्, ‘पछिल्लोपटक हाम्रै जिल्लामा आएर महासचिव पोखरेलले जनयुद्वलाई हिंसा र आतंक नै भनिदिए । त्यो सुनेकै दिनदेखि एमालेमा बस्न मन लागेको थिएन । ११ पुसमा गोदावरीका ४६ जनाले एमालेबाट सामूहिक राजीनामा दिएका छौँ ।’
यता एमाले गोदावरी नगर कमिटीका अध्यक्ष सन्तोष सिंह भने राजीनामा पत्र आफूले पनि पाएको तर धेरै सदस्यको किर्ते हस्ताक्षर गरिएको बताउँछन् । ‘गोदावरी नगर कमिटी सदस्य कल्पना विक र पूर्वनगर कमिटी सचिवालय सदस्य रुपलाल विकले पार्टी छोडेको सत्य हो,’ उनले भने, ‘तर, अन्य धेरैले राजीनामा दिएको विषयमा आफूलाई जानकारी नभएको बताएका छन् । किर्ते हस्ताक्षर गरिएको छ । हामी पार्टीको धारणा छिट्टै सार्वजनिक गर्छौं ।’
यता एमाले छोडेका विक भने कसैको पनि किर्ते हस्ताक्षर नगरिएको बताउँछन् । उनले राजीनामा दिएकाहरूलाई एमालेमै रोक्न चलखेल भइरहेको पनि आरोप लगाए । गोदावरी नगरपालिका एमाले सचिव लेखराज भट्टको गृहपालिका हो ।





प्रतिक्रिया दिनुहोस्: