माओवादी बैठक : आगामी १ फागुनभित्र सबै केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीले सम्पत्ति विवरण बुझाउनुपर्ने
काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीले १ फागुनभित्र सम्पत्ति विवरण र आफ्नो जीविकोपार्जनको विवरण बुझाउनुपर्ने प्रस्ताव गरेका छन् ।
माओवादी केन्द्रको आइतबारदेखि सुरु भएको केन्द्रीय समितिको बैठकमा राजनीतिक प्रतिवेदन पेस गर्दै प्रचण्डले केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीले आयस्रोत र के–कसरी जीविकोपार्जन गरिरहेका छन् भन्ने कुरा पार्टीलाई जानकारी गराउन प्रस्ताव गरेका हुन् ।
उनको प्रस्तावमा ‘१ फागुनसम्ममा सबै केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीहरूले आफ्नो सम्पत्ति र जीविकोपार्जन के कसरी गरिरहेका छन्, सबै कुरा लिखित रूपमा पार्टी कार्यलयमा बुझाउनुपर्ने’ उल्लेख छ ।
माओवादीमा ४ सय ९ पूर्ण केन्द्रीय सदस्य र २ सय ५ वैकल्पिक केन्द्रीय सदस्य छन् । ६ महिनापछि प्रदेश समितिका सबै सदस्यहरूको सम्पत्ति र जीविकोपार्जन कसरी गरेका छन् भनेर बुझाउनुपर्ने पनि प्रस्तावमा रहेको एक केन्द्रीय सदस्यले बताए । उनले भने, ‘१ फागुनभित्र केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीले सम्पत्ति विवरण बुझाउनुपर्ने प्रस्ताव छ । त्यसको ६ महिनापछि प्रदेश समितिका सबै सदस्यहरूको सम्पत्ति विवरण बुझाउने प्रस्ताव छ ।’
प्रचण्डले दलाल वर्ग र माओवादीबीच कुनै भिन्नता नभएको बैठकमा बताएका छन् । प्रचण्डको भनाइ भन्दै ती केन्द्रीय सदस्यले भने, ‘उपदेश दिएर रुपान्तरण हुँदैन, काम गर्नुपर्छ । दलाल, नोकरशाही वर्ग र हामीबीच भिन्नता भएन । हामी पनि बिग्रेका छौँ ।’
प्रचण्डले पहिले आफैँभित्रबाट रुपान्तरण भएर मात्र अरुलाई रुपान्तरण गर्न सकिने बताएका छन् । बैठकमा अध्यक्ष प्रचण्डले जनतामा जाने अभियानअन्तर्गत पहिलो चरणमा हुलाकी राजमार्ग केन्द्रित तराई–मधेशको अभियान चलाउने र त्यसपछि मध्यपहाडी राजमार्गमा अभियान सञ्चालन गर्ने प्रस्ताव राखेका छन् ।
पहिलो दिनको बैठकमा छवटा प्रदेशका अध्यक्ष र मधेश प्रदेशका इन्चार्जले रिपोर्टिङ गरेका छन् ।
पार्टी प्रति जनताको आसा भरोसामा कमि नभएको तर नेताहरुको कार्यशैलीले माओवादीमा समस्या आएको रिपोर्टिङका क्रममा नेताहरुले राखेका छन् । प्रचण्डको विचारको सश्लेषण गरेर जानु पर्ने सचिव राम कार्कीले राखेका एक केन्द्रीय सदस्यले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्: