Bagmati Samachar Logo

महरा पुत्र राहुलसहित ११ जनाविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा दायर

काठमाडौँ । भेपमा लुकाएर ९ किलो सुन तस्करी गर्ने समूहविरुद्ध सम्पत्ति शुद्धीकरण गरेको कसुरमा पनि मुद्दा दायर गरिएको छ । पूर्वसभामुख कृष्ण बहादुर महराका छोरा रेशम महरा ‘राहुल’सहित ११ जना विरुद्ध सम्पति शुद्धिकरणमा शुक्रबार काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरिएको हो ।

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँका जिल्ला न्यायाधिवक्ता सिताराम अर्यालले दायर गरेको अभियोग पत्र अनुसार भेपमार्फत सुन तस्करी गर्ने समूहमा आबद्ध बेल्जियन नागरिक दावा छिरिङसहित ११ जनालाई प्रतिवादी कायम गरिएको छ ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको प्रतिवेदनको आधारमा सरकारी वकिलले उनीहरुविरुद्ध ८ करोड ५५ लाख २८ हजार तिन सय रुपैयाँ बिगो मागदाबी लिएको छ ।

त्रिभुवन विमानस्थल भन्सार कार्यालयका तत्कालीन नासु रेवन्त खड्का, सिन्धुपल्चोकका दिनेश खड्का, अमृत कार्की, काभ्रे घर भएका राम केशव थापा क्षेत्री, बाँके घर भएका ललित थापा, सुनसरीका वेद प्रकाश अग्रवाल, भारतीय नागरिक साहेब राव पाण्डुरङ मगरले, रोल्पा घर भएका राहुल महरा, बेल्जियन नागरिक दावा छिरिङ, सिन्धुपाल्चोकका रोजन राउत र बाजुरा घर भएकी प्रेरणा राउतलाई प्रतिवादी कायम गरिएको छ ।