संसद् छलेर सरकार अध्यादेश ल्याउने बाटोमा गयो ः माओवादी केन्द्र
काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) ले संसद् छलेर अध्यादेश ल्याउने बाटोमा सरकार गएको बताएको छ । सरकारले हिउँदे अधिवेशन बोलाउन छोडेर अध्यादेश ल्याएर दल विभाजन गर्ने खेलमा लागेको बताएको छ । शुक्रबार केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी समिति बैठकको निर्णयबारे जानकारी दिँदै उपाध्यक्ष तथा पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाले सरकारको नियत ठिक नभएको आरोप लगाएका छन् ।
उनले भने, ‘संसद् अधिवेशन बोलाउन धेरै नै ढिला भएको छ । म सभामुख हुँदा समयमै अधिवेशन बोलाउने गरेको थिएँ । अहिले पुस १९ गते भइसक्यो सर्वथा बेठिक कुरा भइराखेको छ । सरकारको नियत राम्रो देखिएको छैन । सदन छलेर अध्यादेश ल्याउने बाटोमा सरकार गइरहेको छ । त्यो अध्यादेश पनि पार्टीहरूलाई विभाजन गर्नतिर रहेको छ । सरकारको यी गतिविधिले लोकतन्त्रमाथि गम्भीर समस्या हुँदैछ ।’
सापकोटाका अनुसार, बैठकमा ३० जना स्थायी कमिटी सदस्यले अध्यक्ष पुष्पकमल दाहाल ुप्रचण्डुले मौखिकरूपमा राखेको राजनीतिक प्रतिवेदनमाथि धारणा राखेका थिए । उनीहरूले समसामायिक परिस्थिति, पार्टी रूपान्तरण, अहिलेको सरकारको क्रियाकलापबारे, संविधान संशोधनबारे धारणा सापकोटाको भनाइ छ । उनीहरूले समाजवादी विचारधारको विकासका लागि सबै पालिकाहरूमा समाजवादका आधारशीला खडा गर्ने गरी तयारी गर्नुपर्नेमा जोड दिएका छन् ।
स्थायी कमिटी बैठक शनिबार पनि बस्ने तय भएको छ । पुस २१ गतेदेखि सुरु हुने केन्द्रीय कमिटीको तयारीका लागि माओवादीको स्थायी कमिटीको बैठक निरन्तर बसिरहेको छ ।
प्रतिक्रिया दिनुहोस्: