Bagmati Samachar Logo

प्रधानमन्त्री ओलीलाई भीम रावलले भने : तपाईं ज्यान मुद्दामा झ्यालखानामा हुनुहुन्थ्यो

काठमाडौं । नेकपा एमालेबाट निकालिएका नेता भीम रावलले बुधबार काठमाडौँमा पत्रकार सम्मेलनमा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई ज्यान मुद्दामा झ्यालखाना परेको आरोप लगाएका छन्।
पत्रकार सम्मेलनमा रावलले प्रधानमन्त्री ओली १४ वर्ष जेल ज्यान मुद्दामा परेको आरोपसमेत लगाएका छन्।

आफ्नो लिखित भाषणमा रावलले भनेका छन्, ‘जतिबेला तपाईं केपी ओली ज्यान मुद्दामा झ्यालखानामा हुनुहुन्थ्यो, झापा संघर्षमै झ्यालखानामा परेका साथीहरूसँग नमिलेर अलग्गै बस्नुरखानु हुन्थ्यो। किन यस्तो भयो भनी उहाँहरूलाई सोध्दा तपाईंलाई “अवसरवादी” भएकोले भन्ने जवाफ पाइएको थियो।’

७४ बुँदाको लिखित भाषणअन्तर्गत ९ नम्बरमा उनले उक्त आरोप लगाएका हुन्।

२०२८ सालमा झापा विद्रोह भएको थियो। त्यो पञ्चायती व्यवस्थाविरुद्धको संघर्ष थियो। त्यस क्रममा ओली २०२८ देखि २०४४ सम्म १४ वर्ष जेल परेका थिए।

जसलाई प्रधानमन्त्री ओली आफूले लोकतन्त्रका लागि १४ वर्ष जेल बसेको भनी बारम्बार गौरव गर्छन् भने उनका आलोचकहरू भने उनी ज्यान मुद्दामा जेल परेको भनी टिप्पणी गर्छन्।

भीम रावलको लिखित भाषणमा यस्तो छ बुँदा नम्बर ९

९. स्पष्टीकरण सात दिनमा दिनुपर्नेबारे

जतिबेला तपाईं केपी ओली ज्यान मुद्दामा झ्यालखानामा हुनुहुन्थ्यो, झापा संघर्षमै झ्यालखानामा परेका साथीहरूसँग नमिलेर अलग्गै बस्नुरखानु हुन्थ्यो। किन यस्तो भयो भनी उहाँहरूलाई सोध्दा तपाईंलाई “अवसरवादी” भएकोले भन्ने जवाफ पाइएको थियो। अत्यन्त प्रतिकूल स्थिति भएको बेला जनसमुदायको बीचमा म समेतका धेरै व्यक्तिले पार्टी संगठन निर्माणको जोखिमपूर्ण काम गरेका थियौँ। मसमेतले राजकाजलगायतका मुद्दा झेल्दै पटकपटक बन्दी हुनुपरेको थियो। यसरी अनेकौँ कठिन चरणहरू र क्षणमा पार्टी संगठनको निर्माण, विस्तार र रक्षामा पाँच दशकसम्म योगदान गरिएको थियो। पार्टी र सरकारका विभिन्न महत्त्वपूर्ण जिम्मेवारी इमानका साथ वहन गर्दै पूरा गरिएको थियो। यस्तो तथ्य तपाईंको जानकारीमा भएकोले मलाई बोलाएर अन्तरविरोध र समस्याबारे छलफल गरी आरम्भ गरिएको वार्ता प्रक्रियाको टुंगो लगाइएला भन्ने मेरो अपेक्षा थियो। विगतमा पार्टीमा उत्पन्न विभिन्न अन्तरविरोध र गम्भीर समस्याको समाधान राजनीतिक छलफल र पारस्परिक विश्वासको आधारमा गरिएको परिपाटी सम्झँदै त्यसबाट तपाईं विमुख भइसकेको भन्ने मलाई लागि हालेको थिएन। तर एकतर्फी रूपमा सुनेरसुनाइएका कुराको आधारमा जस्तो भाषा र विषयमा “स्पष्टीकरण” सोधियो त्यसको कुनै औचित्य देखिएन। राजनीति भनेको निश्चित सिद्धान्त, कार्यक्रम, नीति, आदर्श र पारस्परिक सम्मान एवम् विश्वासमा आधारित हुन्छ। कसैले कसैलाई धाकधम्की, दमन र प्रताडित गरेर ज्यू, हजुर गरिरहनुपर्छ भन्ने मान्यता अलोकतान्त्रिक, मार्क्सवाद र जनताको बहुदलीय जनवाद विरोधी कुरा होइन र ?

सत्ताको खेल देश एवं जनताको आवश्यकता र अपेक्षाविपरीत तथा अत्यन्त अनैतिक दिशामा जान थाले छि मैले २०७८ साल साउन ३ गते “अनैतिक राजनीति, स्वेच्छाचारी व्यवहार, देश, जनता र पार्टीको हितभन्दा निजी स्वार्थ, अहं, प्रतिशोधी र षड्यन्त्रकारी चरित्रको मतियार हुनुभन्दा अलग हुनु श्रेयस्कर” भन्दै प्रतिनिधि सभाको सदस्य पदबाट राजीनामा दिएको थिएँ। देश, जनता तथा मूल्य र मान्यताको लागि पदबाट नै राजीनामा गर्ने कटिबद्ध व्यक्तिलाई तपाईंको कलुषित स्पष्टीकरणको टालोले केही पनि छुँदैन भन्ने कसरी बिर्सनुभयो ?

“कारबाही”को नियोजित र पूर्वनिर्णित षड्यन्त्रपूर्ण स्पष्टीकरणको जवाफ केन्द्रीय कार्यालयमा सात दिनभित्र बुझाइरहनुको मैले कुनै औचित्य देखिनँ। तथ्यसत्य कुरा नेकपा ९एमाले० पंक्ति र जनतासमक्ष खुला रूपमा राख्नु सर्वथा उचित हुने हुँदा त्यसरी नै यहाँ प्रस्तुत भएको छु। यहीअनुरूप बुझिदिन सम्पूर्ण न्यायप्रेमी, देशभक्त पार्टी पंक्ति र जनसमुदायलाई हार्दिक आह्वान गर्दछु।