दसौँ महाधिवेशनका लागि प्रतिनिधि चयनमा ओलीले धाँधली गरेको भीम रावलको दाबी, यी हुन् पाँच आरोप
काठमाडौं । नेकपा एमालेलले साधारण पार्टी सदस्यताबाट निष्कासित गरेको पूर्वउपाध्यक्ष भीमबहादुर रावलले एमालेको दसौँ राष्ट्रिय महाधिवेशनका लागि भएको प्रतिनिधि चयनमा अध्यक्ष केपी शर्मा ओलीले धाँधली गरेको आरोप लगाएका छन् ।
बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी रावलले दसौँ महाधिवेशनका लागि २७ कात्तिक २०७८ मा भएको प्रतिनिधि चयनमा केपी शर्मा ओलीकै निर्देशनमा धाँधली भएको आरोप लगाएका हुन् । रावलले ओलीकै निर्देशनमा भएका धाँधलीपूर्ण र आपत्तिजनक क्रियाकलाप कम्युनिस्ट पार्टीका लागि लज्जास्पद र हानिकारण भएको पनि बताएका छन् ।
यी हुन् प्रतिनिधि चयनमा ओलीमाथि रावलले लगाएका पाँच आरोप
१. मनपरी किसिमले सदस्यता वृद्धि र नवीकरण गर्नुका साथै आलोचक ठानिएकाहरूको सदस्यता नवीकरण हुन नदिने ।
२. अध्यक्ष ओलीका आलोचकहरूलाई प्रतिनिधि हुन दिइनु हुन्न भनी जिम्मेवार तहमा बस्नेहरूले नै सार्वजनिक रुपमा अभिव्यक्ति दिने ।
३. प्रतिनिधि चयनका लागि उम्मेदवारहरूलाई दरखास्त दिन नदिने, धम्क्याउने, आफ्नो बहुमत र शक्ति भएको ठाउँमा अरुलाई उम्मेदवारी दिन नदिई प्रतिनिधिको नाम घोषणा गर्ने, आफू कमजोर भएको ठाउँमा सहमतिको बहाना गर्दै प्रक्रिया लम्ब्याउने र माथिल्लो तहबाट हस्तक्षेप गर्न लगाउने ।
४. केही गुटबाजहरू बसेर प्रतिनिधिको जबर्जस्ती घोषणा गर्ने ।
५. महाधिवेशन प्रतिनिधि चयनमा गरिएको धाँधलीको विरोधमा तथ्य(प्रमाणसहित दिएका लिखित निवेदन र विरोधको सुनुवाइ नगर्ने ।
प्रतिक्रिया दिनुहोस्: