Bagmati Samachar Logo

भीम रावलको ओलीलाई प्रश्न : झलनाथ र माधव नेपालसँग अध्यक्ष पदमा किन उठेको ?

काठमाडौँ । एमालेले साधारण सदस्यता खोसेपछि पार्टी बिहीन बनेका भीम रावलले दसौँ महाधिवेशनमा आफू अध्यक्षमा उठ्दा ओलीले किन उठेको भनेर प्रश्न गरेको भन्दै ओलीलाई आठौँ महाधिवेशनमा झलनाथ खनाल र नवौँ महाधिवेशनमा माधव नेपालसँगअध्यक्षमा प्रतिस्पर्धा गर्न किन उठेको भनेर प्रश्न गरेका छन् ।

बुधवार पत्रकार सम्मेलन गर्दै रावलले ओलीलाई यस्तो प्रश्न गरेका हुन् । उनले एमालेले आफूले पार्टीमा लामो योगदान गरे पनि पार्टी सदस्य नै नरहने गरी निष्कासन गरेर आफ्नो ५१ वर्षको राजनीतिक जीवनमा समाप्त पार्न खोजेका गुनासो गरे ।

उनले भ्रष्ट, दलाल र अनैतिकहरूसँग साँठगाँठ गरी ओलीले देशमा सुशासन र समाजवाद ल्याउने कुरा गर्नु पत्याउन नसकिने समेत बताए ।

‘मलाई महाधिवेशनमा अध्यक्ष पदमा किन उठेको भन्नेजस्तो प्रश्न गरेको पढ्दा प्रतिप्रश्न गर्न मन लाग्यो ?’, रावलले भने, ‘तपाई केपी ओली आठौँ महाधिवेशनमा झलनाथ खनाल र नवौँ महाधिवेशनमा माधवकुमार नेपालसँग अध्यक्षमा प्रतिस्पर्धा गरेको ?’

कुनै ठाउँमा जन्मेको, शिक्षा भएको र कुनै थर भएकोले मात्र अध्यक्षमा उठ्नुपर्ने हो भन्दै रावलले ओलीलाई प्रश्न गरे ।

उनले जनताको हित र सिद्धान्तमा चल्नेलाई पार्टीबाट निकाल्ने, प्रतिनिधि सभाको टिकट नदिने, पार्टीका काममा सहभागी हुन नदिएर ओलीले गुट चलाएको बताए । उनले ओलीको यस्तो शत्रुवत व्यवहार जवजको मान्यता विपरीत रहेको दाबी गरे ।

त्यसक्रममा उनले आफूसँग अन्य नेताहरूसँग छलफल गरेर ओलीसँग पटक पटक वार्ता गर्ने प्रयास गर्दा उनले समय नदिएको समेत बताए । उनले भीम रावलले कुरा गर्न नचाहेको ओलीको भनाइ कुप्रचार गरेको पनि बताए । ओली तानाशाह भएको आरोप लगाए ।