Bagmati Samachar Logo

भीम रावलको पत्रकार सम्मेलन : एक पानामा आफ्नो योजना, ३१ पानाका ७४ बुँदामा ओलीको आलोचना (पूर्णपाठ)

काठमाडौँ । डा. भीम रावलले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीविरुद्ध प्रश्नको वर्षा गरेका छन् । बुधबार आयोजित पत्रकार सम्मेलनमा पूर्वउपप्रधानमन्त्रीसमेत रहेका डा. रावलले एकपछि अर्को प्रश्न गर्दै विभिन्न आरोप पनि लगाएका छन् ।

उनले आफ्नो प्रेस वक्तव्यको ३१ पाना प्रधानमन्त्रीसमेत रहेका ओलीविरुद्ध आलोचना र प्रश्न गर्न खर्चिएका छन् । एक पानामा उनले आफ्नो भावी योजना प्रस्तुत गरेका छन् ।

एमालेमा झण्डै पाँच दशक सक्रिय रहेका रावललाई एमालेको गत १० गते पुसमा सचिवालय बैठकले पार्टी सदस्यता समेत नरहने गरी निष्कासन गरेको थियो । २०७८ सालमा चितवनमा भएको दशौँ महाधिवेशनमा अध्यक्षका लागि केपी शर्मा ओलीसँग प्रतिस्पर्धा गरेका रावल त्यसयता पार्टीमा निष्किृयजस्तै बनेका थिए ।

रावलले मातृभूमि जागरण अभियान सञ्चालन गर्ने घोषणा गरेका छन् । अभियान सञ्चालनपछि सोही अभियानलाई राजनीतिक पार्टीको रूपमा विकास गर्ने रावलको भनाइ छ । ‘देशमा देशभक्तिपूर्ण राजनीतिक शक्ति अपरिहार्य आवश्यक छ । यसैका निम्ति हाम्रो पाइला अघि बढ्ने छ’, उनले भने ।

उनका अनुसार मातृभूमि जागरण अभियान राष्ट्रव्यापी अभियान चलाइने छ । सो क्रममा भ्रष्टाचार र कुशासनका विरुद्ध जनतालाई जागरुक बनाइने छ ।