Bagmati Samachar Logo

समयमै महाधिवेशन हुन्छ, नेतृत्वबारे सोचौंला : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले समयमा नै महाधिवेशन हुन्छ कि हुँदैन भनेर रुवाबासी गर्नुको कुनै औचित्य नभएको बताएका छन् ।

प्रतिबन्धित कालमा महाधिवेशन गरेको पार्टीले अहिले समयमै महाधिवेशन गर्ने भएकोले ढुक्कसँग समयमा नै महाधिवशेन हुने बताए ।

पार्टीभित्र कसैलाई महाधिवेशनका पक्षधर र कसैलाई महाधिवेशन नगर्ने बनाइएको उल्लेख गर्दै थापाले १५ औं महाधिवेशन आनन्दसँग गरिने बताए।

‘पार्टीका मञ्चहरूमा र केन्द्रीय समितिमा २०८४ को चुनाव र १५ औं महाधिवेशनबारे कुरा गर्छौं, १५ औं महाधिवेशन हुन्छ, रूवाबासी नगरौं,’ मकवानपुरमा मंगलबार भएको कार्यक्रममा थापाले भने, ‘प्रतिबन्धित कालमा त सम्हालिएर आएको पार्टीले आनन्दसँग समयमै महाधिवेशन गर्छ।’

महाधिवेशन पार्टीको नियमित प्रक्रिया भएको पनि उनले बताए।

‘को नेतृत्वमा आउने कुरा समयमा सोचौंला,’ उनले भने, ‘अहिले २०८१ मा छौं, काम गर्ने हो २०८४ को चुनावको चिन्ता गर्ने होइन,’ थापाले भने।

कांग्रेस नेपालको मुलशक्ति भएको पनि थापाले बताए।

‘हाम्रो पार्टीभित्र बहस हुन्छ। अरू पार्टीमा जस्तो छलफल गरेकै आधारमा पार्टीबाट छाडेर पनि जानुपर्दैन,’ थापाले भने, ‘तर फराकिलो उद्देश्यसहित हामी अघि बढ्नुपर्छ, महाधिवेशन र चुनावकै कुरामात्र गर्न हुन्न।’

उनले जनताका समस्या समाधानमा जुट्नुपर्ने पनि बताएका छन्।