Bagmati Samachar Logo

अदालतमा सूर्यदर्शन सहकारी ठगीसम्बन्धी थुनछेक बहस चल्दै गर्दा इजलासमा रुवाबासी

काठमाडौँ । कास्की जिल्ला अदालतमा सूर्यदर्शन सहकारी ठगीसम्बन्धी थुनछेक बहस जारी छ । बुधबारको थुनछेक बहस भने अरु दिनको भन्दा भिन्न भयो । थुनछेक बहस चल्दै गर्दा कास्की जिल्ला अदालतको इजलासमै रुवाबासी चलेको छ । इजलासमा सरकारी वकिलले बहस गरिरहँदा प्रतिवादीमध्येका कृष्णबहादुर गुरुङले आफूले यहीँ मर्ने अभिव्यक्ति दिएपछि रुवाबासी चलेको हो ।

सूर्यदर्शन सहकारी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने समेत जोडिएका छन् । उक्त मुद्दामा अदालतमा रविसँगै पूर्वडीआईजी छविलाल जोशी, जीबी राईका पार्टनर लिला पछाईं, रामबहादुर खनाल, पूर्वसांसद मीना गुरुङ, कृष्णबहादुर गुरुङ र आरती गुरुङको बयान सकिएसँगै थुनछेक बहस सुरु भएको हो ।

८० वर्षीय गुरुङले इजलासमा नै मर्ने अभिव्यक्ति दिएपछि अवस्था असहज भएर बहस नै स्थगित गरिएको थियो । उनको यहीँ मर्ने अभिव्यक्तिपछि सहकारी ठगी प्रकरणमा परेकी पूर्वसांसद मिना गुरुङ लगायत रुन थालेका थिए भने बहसको वातावरण एकाएक असहज भएको अदालत स्रोतले बताए ।

गुरुङले उक्त अभिव्यक्ति दिदा न्यायाधीश नितिज राईको इजलासमा सरकारी वकिलको तर्फबाट सुजाता पौडेलले बहस सकेर शान्तिदेवी शर्माले बहस थालेकी थिइन् ।

सहकारी ठगी आरोपमा पक्राउ परेका रवि लगायतका केही प्रतिवादीलाई सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराधमा पनि मुद्दा चलाइएको छ ।

लामिछानेसहितका बयान दिएका प्रतिवादीहरु सूर्यदर्शन सहकारीको बचत रकम अपचलन गरेको आरोपमा पक्राउ परी जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमै छन् । लामिछानेविरुद्ध सम्पत्ति शुद्धीकरणमा २७ करोड ८९ लाख ४४ हजार सात सय पाँच रुपैयाँ र सहकारी ठगीतर्फ तीन करोड ३७ लाख ६५ हजार रुपैयाँ बिगो दाबीसहित मुद्दा दायर गरिएको छ ।

यसैगरी प्रतिवादी खनालसँग १४ करोड ३० लाख ९१ हजार नौ सय ११ रुपैयाँ, जोशीसँग ७४ करोड ३४ लाख ७१ हजार ५५ रुपैयाँ, पछाइसँग २४ करोड ६७ लाख सात हजार २४ रुपैयाँ बिगो दाबी गरिएको छ ।

यस्तै सहकारी ठगीमा जोशीविरुद्ध पाँच करोड २६ लाख ६५ हजार रुपैयाँ र अर्का प्रतिवादी दीपेश पुनसँग दुई करोड १४ लाख आठ हजार आठ सय ४३ रुपैयाँ बिगो माग गरिएको छ । सहकारी ठगीका आरोपित अन्य व्यक्तिलाई पनि कसुरअनुसारको बिगो र सजायको मागसहित मुद्दा दर्ता भएको सरकारी वकिलको कार्यालयले जनाएको छ ।

लामिछानेसहित १९ जनाविरुद्ध सङ्गठित अपराधमा पनि मुद्दा दर्ता भएको छ भने सहकारी ठगी मुद्दामा चाहिँ लामिछानेसहित ३१ जनाविरुद्ध मुद्दा दायर भएको हो । सूर्यदर्शन सहकारीको रकम ठगी प्रकरणमा अहिलेसम्म कुल ६३ जनाविरुद्ध जिल्ला अदालत कास्कीमा मुद्दा दायर भएको छ ।