Bagmati Samachar Logo

सहकारी ठगीमा जोडिएका कांग्रेस नेतालाई पाता कसेर लैजानू : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेसका पदाधिकारी वा कुनै नेता सहकारी अनुसन्धानमा जोडिएका छन् भने पाता कसेर लैजान आग्रह गरेका छन्।

सहकारी ठगीमा परेका अथवा अनुसन्धानमा जोडिएकाहरुलाई पाता कसेर लैजान आफूले प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई बैठकहरूमा तथा सार्वजनिक रूपमा पनि भनेको थापाले बताए।

ललितपुरको मितेरी सहकारीमा कांग्रेस उपसभापति धनराज गुरूङ जोडिए पनि सत्तागठबन्धन भएकाले अनुसन्धान नगरेको आरोप लाग्दै आएको छ ।

मकवानपुरमा मंगलबार आयोजित कार्यक्रममा महामन्त्री थापाले उपसभापति गुरूङको नाम नलिई भनेका छन्, ‘मैले सरकारका प्रधानमन्त्री र गृहमन्त्रीलाई पनि भनिरहेको छु, यहाँबाट सार्वजनिक रूपमा पनि भन्छु, यदि कांग्रेसको नेता, पदाधिकारी वा कोही माछे सहकारीको ठगीमा कहीँ कतै पनि अनुसन्धानले देखाउँछ भने पाता कसेर लैजानू।’

जसले गल्ती गर्छ उसलाई प्रहरीले पाता कसेर लैजानुपर्ने थापाले बताए ।

‘यो हो नि कानुनको शासन भनेको। पाता कसेर लगेका व्यक्तिको समर्थनमा झन्डा लिएर बाहिर नआउनुस्,’ उनले भने, ‘जसले गल्ती गरेको छ उसले सजाय पाउँछ। विधिको शासन यही हो।’

कुन कुन फाइल खोल्ने हो त्यो खोलिनुपर्ने उनले बताएका छन्। यसको अध्ययन गर्न शक्तिशाली आयोग बनाउन परे पनि बनाउनुपर्ने थापाले बताए।

‘भुटानी शरणार्थी, बाँसबारी, गिरीबन्धु टी इस्टेट वा क्यान्टोनमेन्टलगायत के(के काण्डका फाइल खोल्नुपर्ने हो खोलौं र जो जोले गल्ती गरेका छन् एक जनालाई पनि छुट नदिऔं, यो आँट गरौं,’ थापाले भने।
सोमबार झापा पुगेर मााओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादीले जितेपछि गिरी बन्धु टी स्टेटको फाइल खोल्ने बताएका थिए ।