अखिल क्रान्तिकारीमा उमेर हद लगाउनु पर्छ भन्ने पक्ष २१ मतले विजयी,नेतृत्वको निर्वाचन माघ १२
काठमाडौँ । माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीमा उमेर हद लाग्ने भएको छ । शनिबार उमेर हद राख्ने कि खुला छाड्ने भन्नेबारे मतदान भएको थियो । उक्त मतदानको नतिजा आइतबार अबेर राती घोषणा हुदा उमेर हद लगाउनु पर्छ भन्ने पक्षले २१ मतले जितेका छन् ।
निर्वाचन आयोगले सार्वजनिक गरेको नतिजाअनुसार उमेर हदको पक्षमा ९०० र खुला राख्ने पक्षमा ८७९ मत आएको प्रमुख निर्वाचन अधिकृत मुक्ति नारायण प्रधानले जानकारी दिए ।
यससँगै अब अखिल क्रान्तिकारीले ३२ वर्षभन्दा मुनिबाट विद्यार्थी नेतृत्व पाउने भएको छ । अखिल क्रान्तिकारीमा ३२ वर्षे उमेरहद लागू गर्नुपर्ने भनेर आवाज उठेपनि पार्टी अध्यक्ष प्रचण्डसहितको आड भरोसामा ३२ वर्षमाथिका विद्यार्थी नेताहरुले बखेडा झिक्दै आएका थिए ।
तर, जनार्दन शर्मासहितका केही नेता भने ३२ वर्षभन्दा कमबाट नेतृत्व हुनुपर्ने पक्षमा थिए भने सोहीअनुसार मतदानमा मत दर्ज भएको पाइएको छ ।
यसले विद्यार्थीले परिवर्तन चाहेको प्रष्ट सन्देश दिएको एक विद्यार्थी नेताले बताए ।
नेतृत्वको निर्वाचन माघ १२ गते सम्पन्न हुनेछ। कार्यतालिका निर्वाचन समितिले तत्काल सार्वजनिक गर्ने जानकारी गराउदछौ।’ मत परिणामसँगै निर्वाचन समितिले नयाँ निर्वाचनको मिति पनि तय गरेको छ । अध्यक्ष पञ्चा सिंहले दिएको जानकारी अनुसार आगामी माघ १२ गते नयाँ नेतृत्वका लागि निर्वाचन हुने छ ।

प्रतिक्रिया दिनुहोस्: